कृषि क्षेत्रमा लगानी अझै बढाउन गभर्नर अधिकारीको सुझाव

राम्रो अनलाइन     ०७ माघ २०८०, आइतबार
कृषि क्षेत्रमा लगानी अझै बढाउन गभर्नर अधिकारीको सुझाव

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि क्षेत्रमा लगानी बढाएर कृषिजन्य वस्तुको आयात प्रतिस्थापनतर्फ लाग्न कृषि विकास बैंकलाई सुझाव दिएका छन् । 

कृषि विकास बैंकको आज यहाँ आयोजित ५७औँ वार्षिकोत्सवमा गभर्नर अधिकारीले बैंकले उपलब्ध वित्तीय स्रोत साधनलाई कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनतर्फ केन्द्रित गरी सेवा प्रवाहमा चुस्ततामा लगाउन सुझाव दिए। 

‘कृषि क्षेत्रमा अत्यन्त ठूलो सम्भावना छ । कृषिमा कस्तो आपूर्ति एवम् मूल्य शृङ्खलाको अभाव छ, त्यो कुरा हामी स्पष्ट रुपमा देख्न सक्छौँ । यसका लागि बैंकले काम गर्न सक्छ’, गभर्नर अधिकारीले भने । उनले बैंकले आगामी दिनमा समेत वित्तीय सेवाबाट विमुख किसान, मजदुर एवं सिमान्तकृतमा बैंकिङ पहुँच विस्तार गर्न गर्न सक्ने बताए । ‘आफूलाई नेपाली जनताको घर आँगनको बैंकका रुपमा चिनाउँदै आएको यस बैंकले ग्राहकको सन्तुष्टिमा ध्यान दिँदै वित्तीय सेवाको विविधिकरणमार्फत् उद्देश्य हासिल गर्नुपर्छ’, उनले भने । 

त्यस अवसरमा नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले कृषि विकास बैंकले दिगो बैंकिङको अभ्यास गरिरहेको भन्दै बैंकले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रलाई अगाडि बढाउन सरकारसँगै बैंकिङ प्रणाली पनि तयार रहेको उनको भनाइ छ ।

बैंकको सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले विश्व र देशको अर्थतन्त्र शिथिल रहेको अवस्थामा समेत बैंकले कारोबार बिस्तार गर्न सफल भएको उल्लेख गरे । उनले बैकिङ क्षेत्रमा आउन सक्ने प्रणालीगत जोखिमलाई समेत कुशलतापूर्वक व्यवस्थापन गर्न बैंक सक्षम रहेको उल्लेख गरे । उनले गरिबी निवारण, साना किसान विकास कार्यक्रम, ग्रामीण र कृषि क्षेत्रको विकास, दुर्गम विपन्न वर्गलाई लघुवित्त सेवा प्रदानलगायतमा विशेष भूमिका निर्वाह गर्दै आएको चर्चा गरे ।  

विक्रम संवत् २०४१ सालमा स्थापना भएको यस बैंकले वित्तीय सेवा, कृषक, उद्यमीलाई ऋण प्रवाह गर्दै आएको छ । बैंकले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद र २ प्रतिशत बोनस शेयर गरी १३ प्रतिशत लाभांश दिएको छ । वार्षिकोत्सवकै अवसरमा बैंकले ओभरड्राफट डेविट कार्ड र कल सेन्टरको सुरुआत गरेको छ ।

बैंकको गत आवको सञ्चालन नाफा रु चार अर्ब ८२ करोड ७१ लाख २० हजार थियो । बैंकले सो आवमा रु एक खर्ब ९९ अर्ब ६६ करोड २० लाख ३० हजार निक्षेप र रु एक खर्ब ८२ अर्ब ८१  करोड ५० लाख ७० हजार कर्जा प्रवाह गरेको छ । बैंकको गत आवमा खराब कर्जा दुई दशमलव ७८ प्रतिशत थियो । बैंकको जारी तथा चुक्ता पुँजी रु १८ अर्ब ६२ करोड छ लाख २७ हजार छ । बैंकमा सरकारको ५१ प्रतिशत शेयर स्वामित्व छ ।
 

प्रतिक्रिया