फेसनेबल देखिन बजारमा आएका नयाँ स्टाइलका पहिरन किनेर लगाउनैपर्छ भन्ने छैन। आफूसँग भएका पहिरनलाई मिक्स–म्याच गरेर लगाउन जानियो भने पनि फेसनेबल देखिन सकिन्छ। मिक्स–म्याच फेसनमा एउटा पहिरनसँग अर्को खालको पहिरन मिलाएर लगाइन्छ।
जस्तो कि, टप्ससँग ज्याकेट वा वेस्टकोट, कुर्तासँग स्वेटर, टिसर्टसँग स्कार्फ आदि लगाउन सकिन्छ। यसलाई लेयरिङ फेसन भनिन्छ। लेयरिङ फेसनमा असहज मान्नेहरू पनि छन्। यसको कारण उनीहरूले यसलाई राम्ररी नबुझ्नु हो। लेयरिङको अर्थ धेरै लुगा लगाउने भन्ने होइन। सुहाउने पहिरनलाई मिलाएर लगाउनु हो।
यस्तो फेसन किशोरीदेखि अधबैँसे महिलाले पनि अपनाउन सक्छन्। लेयरिङ फेसनमा पहिरनलाई म्याच गराउन सकिएन भने व्यक्ति भद्दा देखिन सक्छ। यसमा हेक्का राख्नुपर्छ। आफूलाई कुन रङको र कस्तो लुगा सुहाउँछ, सो जान्नु आवश्यक छ। जाडो महिनामा बढी चल्ने लेयरिङ फेसन गर्मीमा पनि उत्तिकै लोकप्रिय हुन्छ। यसले तपाईंलाई फरक र स्मार्ट लुक दिन्छ।

हल्का चिसो मौसममा दिनको समय कुर्ताको माथिबाट पातलो फेब्रिकवाला वेस्टकोट र जिन्सको प्रयोग गर्न सकिन्छ भने साँझको समयमा कटनवाला ज्याकेट प्रयोग गर्न सकिन्छ। त्यसमा स्कार्फ पनि थप्न सकिन्छ।
दिनमा हल्का गर्मी र साँझमा अलिकति जाडो हुने मौसममा लेयरिङ गर्दा कटन र लिनेन फेब्रिकलाई प्राथमिकता दिनुपर्छ। यस्तो फेब्रिकमा छालाले हावा पाउन सक्छ। यस्तो मौसममा अलग–अलग लम्बाइ र कट्सका दुइटा स्कट्र्स एकैचोटि प्रयोग गर्न सकिन्छ। त्यस्तै, लुकलाई आकर्षक बनाउन फरक–फरक रङका स्पागेटी टप्स प्रयोग गर्नुपर्छ। त्यसमाथि कलरफुल वेस्टकोट प्रयोग गरेर कम्प्लिट लुक पाउन सकिन्छ। फ्ल्याट्स र वेजेज सुजले अझै स्टाइलिस देखाउँछ।
लेयरिङ फेसनमा एकैचोटि दुइटा स्कर्ट प्रयोग गर्नु रोचक हुन्छ। यस प्रयोगले आउटफिट सादा भए पनि स्टाइलिस देखिन्छ। चिसो र सुक्खा मौसममा लेयरिङ फेसन गर्दा ऊनी बाक्ला फेब्रिक छनोट गर्नुपर्छ। यस्तो मौसममा पोलो नेक टप र त्यसमाथि सही फिटिङ र राम्रो कट गरिएको ज्याकेट लगाउनुपर्छ। एंकल लेन्थ मोजासँग बुटिज या हाई हिल्स लगाएर पूर्ण लुक पाउन सकिन्छ।
केसँग के लगाउने ?
–टाइट वान पिससँग लङ कोट
–हाफ प्यान्टसँग फुल लेन्थ सर्ट
–हाई नेक कोट र ज्याकेट
–टाइट फुल लेन्थ टिसर्टमा फ्यान्सी वेस्ट कोट
–टाइट टप्समा हाई वेस्टेड स्कर्ट
–पस्मिना पन्चुसँग स्किनी जिन्स
–कटन सर्ट प्यान्टसँग कोट र स्कार्फ
–टिसर्ट र लङ स्कर्टमा रंगिन सल
–कटन कुर्तीमा वेस्ट कोट
–हाई नेकसँग जिन्स ज्याकेट
–हल्टर नेक ड्रेसमा सर्ट आउटर
–टाइट उलन टप्समा सारी
–सारीमा फ्रन्ट ज्याकेट
–सर्ट, टप्स र जिन्ससँग बाइकर ज्याकेट
–गाउनसँग लङ क्लासिक कट ज्याकेट
–फर्मल ट्राउजर, सर्टसँग फिटिङ सर्ट ज्याकेट
–जिन्स लङ टप्ससँग वेस्ट लेन्थ ज्याकेट
