गण्डकी–सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संविधानले स्थानीय तहलाई दिएका जिम्मेवारी र भूमिका महत्त्वपूर्ण रहेको बताएकी छिन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, कार्यक्रम समन्वय एकाइ बबरमहल काठमाडौँद्वारा आज पोखरामा आयोजित असल अभ्यास आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा उनले वर्तमान संविधानले स्थानीय तहलाई महत्त्वपूर्ण खम्बाका रुपमा लिएको बताइन्।
स्थानीय तहलाई संविधानले कतिपय एकल अधिकार दिएको उल्लेख गर्दै मन्त्री देवीले प्राप्त अधिकारको उपयोग गरी विकास, निर्माणका काममा प्रभावकारी रुपमा अघि बढ्दै समृद्धिको यात्रातर्फ लाग्नुपर्ने बताइन् । स्थानीय तहले एकआपसमा गरेका असल अभ्यासबारे छलफल एवं अन्तरक्रिया गर्दै अघि बढ्न सकेमा जनताको अपेक्षा अनुसारका कामले निरन्तरता पाउने उनको भनाइ थियो ।
प्रमुख प्रशासकीय अधिकृत र स्थानीय तहबीच नङमासुको जस्तो सम्बन्ध हुनुपर्नेमा जोड दिँदै मन्त्री देवीले असल सम्बन्धबाट कामको प्रभावकारिता बढ्ने धारणा राखिन्।
गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले एकले गरेका असल अभ्यास अर्काका लागि अनुकरणीय हुने बताइन्। काम गर्ने क्रममा विविध समस्या तथा कानुनी अप्ठ्यारा आउने भन्दै कानुनको आवश्यकता, महत्त्वलगायत विषयमा समीक्षा गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिइन्।
स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा रहेको न्यायिक समितिका लागि कानुन अधिकृतको व्यवस्था गर्न सके त्यसले कामलाई सहज बनाउने बस्नेतको भनाइ थियो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रशासकीय अधिकृत पटकपटक फेरिने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिइन् । स्थानीय तहलाई दिइएका अधिकार कार्यान्वयनका सम्बन्धमा निरन्तर छलफलसँगै दबाब भए पनि त्यसको सुनुवाइ नभएको उनले बताइन्।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल, डा नारायण रेग्मीलगायतले आ–आफ्नो धनाइ राखे । भोलिसम्म हुने कार्यक्रममा गण्डकी प्रदेश भित्रका विभिन्न ४० पालिकाका प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृत सहभागी छन्।