चितवन–हात्ती सुन्दरी प्रतियोगिताको उपाधि सेल्फीकलीले जितेको छ । सौराहामा आयोजना गरिएको १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत बुधबार गरिएको सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी छ वटा हात्तीलाई पछि पार्दै १७ वर्षीय सेल्फीकलीले सो उपाधि जित्न सफल भएको हो । सरसफाइ र अनुशासनका आधारमा उत्कृष्ट छनोट गरिने हात्ती सुन्दरी प्रतियोगितामा सेल्फीकलीले उपाधि जित्न सफल भएको निर्णयक समितिका संयोजक चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय कुमार श्रेष्ठले जानकारी दिए । उनाँका अनुसार सेल्फीकलीले ५०० पूर्णाङ्कमा ३९४ अंक ल्याएर उपाधि जिल्न सफल भएको हो । युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध भएर सेल्फीकलीले दैनिक पर्यटकलाई सेवा दिँदै आएको छ ।
प्रतियोगितामा चितवन राष्ट्रिय निकुञ्जको ११ वर्षीय रिमझिमकली दोस्रो र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध २२ वर्षीय सम्बृद्धिकली तेस्रो भएका छन् । उनिहरुले क्रमशः ३९३ र ३५६ अंक प्राप्त गरे । सो प्रतियोगितामा लक्ष्मीकली, बिजुलीकली, रानीमायाकली र चम्पाकलीले सहभागिता जनाएका थिए ।
निर्णायकहरुले सरसफाइतर्फ हात्तीको खुट्टा, मुख र शरीरका अन्य भागहरुको सरसफाइ र अनुशासनतर्फ हात्तीको रहनसहन र उसले मानव जातिलाई गर्ने व्यवहारको मूल्याङ्कनका आधारमा हात्ती सुन्दरी छनोट गरेका हुन । यस्तै हात्तीको सृङ्गार पटार,सजावट, आँखाको चमक, हात्ती चालकको अनुभव, अनुशासन, हात्तीको उमेर र छालाको चम्कीलो पनालाई आधार मानेर सुन्दरी छनोट गरिएको निर्णायक समितिका सदस्य विनोद तिमिल्सीनाले जानकारी दिए । हात्तीको फुर्तिलोपना, आदेश पालना, सोझोपना, हिडाइ र शारिरिक वनावटलाई समेत आधार मानेर सुन्दरी छनोटको गरिएको उनाँले बताए ।
प्रतियोगितामा प्रथम हुने हात्तीलाई १५ हजार,दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार पुरस्कार प्रदान गरिनेछ । शुक्रबार हात्तीको बनभोज कार्यक्रम आयोजना गरिएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालन गरिएको महोत्सव आगामी पुस १४ गतेसम्म सञ्चालन हुनेछ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।