अभिनेता आर्यन अधिकारीको डेब्यू फिल्म हो, ‘के म तिम्रो होइन र’। सन् २०१६ मा रिलिज यस फिल्मबाट उनले नेपाली फिल्म इन्डस्ट्रीमा प्रवेश गरेका हुन्। पहिलो फिल्मबाटै उनले दर्शकको मन जिते। दर्शकबाट माया र प्रशंसा पाए।
नवलपरासीमा जन्मे-हुर्केका उनी सानैदेखि सिनेमा भनेपछि हुरुक्कै हुन्थे। बाल्यकालमा हिन्दी र नेपाली फिल्म हेर्न औधी मन पर्ने उनी बताउँछन्। सानोमा फिल्म हेर्न घरबाट भागेर हल पुग्थे, आर्यन। ‘राजेश हमाल र धीरेन शाक्यको फिल्म ‘सिमाना’ हेर्न घरमा कसैलाई थाहै नदिई साँझपख भागेर गएको थिएँ,’ उनी भन्छन्, ‘फिल्म हेर्दाहेर्दै अँध्यारो भइसकेको थियो। घरमा गाली खाने डरले क्लाइमेक्स नै नहेरी घर फर्किएँ।’
स्कुलमा साथीभाइले डाक्टर, इन्जिनियर बन्ने चाहना राख्दा उनी हिरो बन्ने सपना देख्थे। ‘मलाई साथीभाइले ‘हिरो’ भनेर जिस्काउँथे,’ उनी सम्झन्छन्। मध्यम वर्गीय परिवारका आर्यनले गाउँले जीवन राम्रोसँग भोगेका छन्। ‘खेतबारीमा सघाउँथेँ, दिनभरि खेत खन्थेँ, गाईवस्तु चराउँथेँ, धान गोड्थेँ,’ उनी भन्छन्, ‘गाउँमा हुँदा नगरेको काम केही छैन।’
आर्यनले नवलपरासीको सरकारी स्कुलबाट एसएलसी पास गरे। अगाडिको पढाइका लागि उनी काठमाडौँ छिरे। काका आकाश अधिकारी काठमाडौँमा भएकाले खान÷बस्न समस्या भएन। बानेश्वर क्याम्पसबाट व्यवस्थापन विषयमा प्लस टू गरे। स्नातक गर्न उनी बेलायत पुगे। बेलायतजस्तो देशमा पढ्न पठाउने आर्थिक हैसियत परिवारको नभएको उनी बताउँछन्। ‘तर, मैले बाहिर गएर पढ्न पाएँ,’ उनी भन्छन, ‘त्यसका लागि आफूलाई लक्की ठान्छु।’ बेलायतमा पढाइसँगै कामको अनुभव पनि उनले बटुले। ‘त्यहाँ मैले तीन वर्ष एकदमै मेहनत गरेँ,’ उनी भन्छन्, ‘पढ्दै काम गरेँ। बिदामा १७ घण्टासम्म काम गर्थें। न खाने ठेगान हुन्थ्यो, न सुत्ने।’
यूएस गएर फिल्म स्कुलमा पढ्ने अवसर पाए आर्यनले। त्यहाँ छसात वर्ष बिताए। सिनेमासम्बन्धी अध्ययन गरे। यूएसमा पनि आफू व्यस्त नै हुने गरेको उनी बताउँछन्। ‘हप्ताका सातै दिन व्यस्त हुन्थेँ,’ उनी भन्छन्, ‘एडिटिङ, फिल्म मेकिङलगायत सिनेमासम्बन्धी काम गर्थें।’
लामो समय विदेश बसेर पनि आफूमा त्यहीँ ‘सेटल’ हुने सोच नआएको उनी बताउँछन्। ‘नेपाल फर्केर सिनेमा क्षेत्रमै केही गर्छु भन्ने सोच थियो,’ उनी भन्छन्। सन् २०१५ मा उनी नेपाल फर्किए। सन् २०१६ मा ‘के म तिम्रो होइन र’ बाट नेपाली सिनेमामा प्रवेश गरे।
पहिलो पटक क्यामरा फेस गर्दा उनी डराएनन्। ‘फिल्म स्कुलमा ट्रेनिङ गरेको हुनाले क्यामरा फेस गर्दा नर्भस भइनँ,’ उनी भन्छन्, ‘क्यामरासँग खेल्ने बानी बसिसकेको थियो।’ ‘बटरफ्लाई’, ‘बाँध मायाले’ फिल्ममा उनले काम गरेका छन्। ‘अहिलेसम्म पाँच वटा फिल्ममा काम गरेको छु,’ उनी भन्छन्, ‘तीन वटा फिल्म रिलिज भएका छन्।’ आर्यन अभिनयलाई आफ्नो ‘प्यासन’ बताउँछन्। ‘अमेरिकी अभिनेता रोबर्ट डी निरो र क्लिन्ट इस्टउडलाई फलो गर्छु,’ उनी भन्छन्, ‘उनीहरूले गरेको काम सबै हेर्छु। अहिलेसम्म कुनै फिल्म छुटाएको छैन।’
जीवनमा कुनै पनि काम योजना बनाएर गर्दैनन्, आर्यन। ‘वर्तमानमा बाँच्छु,’ उनी भन्छन्, ‘भोलिभन्दा आजमा जोड दिन्छु।’ एक पटक जीवनदेखि विरक्त लागेको उनी सुनाउँछन्। ‘अमेरिकामा एक पटक कार दुर्घटनामा परेको थिएँ,’ उनी भन्छन्, ‘उठ्न÷बस्न नसक्ने अवस्थामा पुगेँ। ह्विलचियरको सहारा लिनुपर्यो।’ दुई वर्षजति यही अवस्थामा रहेको उनी बताउँछन्। ‘दुई वर्षसम्म केही गर्न सकिनँ,’ उनी सुनाउँछन्, ‘जीवनदेखि निराश भएँ।’ दिनहुँ योग, ध्यान, जिम गरेर आर्यन आफूलाई फेरि उभ्याउन, हिँड्डुल र काम गर्न सफल भएँ। ‘योग, ध्यान, जिम गरेर उभिन सक्ने भएँ,’ उनी भन्छन्, ‘त्यसपछि फेरि काम सुरु गरेँ।’
जीवनमा निराश हुँदा आफ्नो हारलाई जीतमा बदल्न सक्नुपर्ने आर्यन बताउँछन्। ‘मेरा लागि हार नै जीत हो,’ उनी भन्छन्, ‘हरेक पटक सफल नै हुनुपर्छ भन्ने छैन। हारबाटै जित्ने पाठ सिकिन्छ। जीवनमा सफल हुन सिकिन्छ।’