काठमाडौं– तीज नजिकिँदै गर्दा अस्तीसम्म एउटा भनाई चल्तीमा थियो( विष्णु माझीको गीत नआउँदासम्म तीज आएको महसुस नै हुँदैन ।’ गतवर्ष उनको गीत ‘चरी जेलैमा’ ब्लकबस्टर मात्र बनेन, उनको वास्तविक जीवनसँग मेल खाएको भन्दै चर्चित पनि बन्यो ।
उनका श्रीमान सुन्दरमणी अधिकारीले प्रहरीकहाँ पुगेर पत्नी तथा गायिका माझीको अवस्थाबारे स्पष्टीकरण दिनुपरेको थियो । सुन्दरमणीकै संगीत र भिडियो निर्देशनमा माझीले उक्त ब्लकबस्टर गीत ‘चरी जेलैमा’को दोस्रो सिक्वेल ल्याएकी छन् । ‘चरी जेलैमा २’ बोलको गीत बुधबार बेलुका युट्युवमा रिलिज भएको छ ।
केही शब्दबाहेक गीतको दोस्रो भागमा नयाँपन केही छैन । लय, संगीत र धुनहरु पुरानै छन् । अघिल्लो गीतमै शब्दहरु मिसमास गरेर ल्याइएको गीतमा दर्शकीय प्रतिक्रिया पनि नयाँपन छैन भन्नेछ ।
संगीतमा नयाँ प्रयोग नहुँदा दर्शक र श्रोताले नयाँपन महसुस गर्ने कुरै भएन । भिडियो कम्पोज र कोरियोग्राफी पनि दुरुस्तै भएकाले सामाजिक संजालमा यसलाई लिएर आलोचना पनि भएको छ ।
माझीको तीज गीत अब युट्युव प्लेटफर्ममा मात्र सीमित नरहेर यसपटकदेखि स्पटीफाइ, एप्पल म्युजिक, टाइडल, अमेजन म्युजिक, युट्युव म्युजिकमा पनि उपलब्ध छ ।