टीकापुर–सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले सुदूरपश्चिम प्रदेश सभामा बजेट पेस गरेका हुन्।
चालू तर्फ ११ अर्ब सात करोड १९ लाख ६३ हजार (३५ प्रतिशत), पुँजीगत खर्च १७ अर्ब ५३ करोड आठ लाख ५५ हजार (५५.७२ प्रतिशत), अन्तर सरकारी वित्त हस्तान्तरणमा २ अर्ब ९२ करोड ७० लाख १० हजार (९.०५ प्रतिशत), वित्तीय व्यवस्थापनमा १० करोड (०.३१ प्रतिशत) विनियोजन भएको छ ।
भौतिक पूर्वाधार विकासका लागि १३ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ । ऊर्जा सिँचाइका लागि ३ अर्ब ६१ करोड छ । सरसफाइ र खानेपानीमा १ अर्ब ९२ करोड बजेट छुट्टयाएको छ । शिक्षा स्वास्थ्यका लागि छ अर्ब ७४ करोड बजेट विनियोजन भएको छ । कृषिमा ३ अर्ब ९ करोड बजेट वन पर्यटन मन्त्रालयका लागि २ अर्ब ४ करोड, आन्तरिक मामिला मन्त्रालयका लागि ३८ करोड ६९ लाख बजेट छुट्टयाएको छ ।
अधिकांश कार्यक्रमहरू विगतकै दोहोर्याएको सरकारले आ।व। २०८१/८२ देखि दलित अधिकार दशक घोषणा गर्ने यहाँका दलितको अवस्था अध्ययन गरी गुरुयोजना बनाउन बजेट छुट्टयाएको छ ।
चालू आव २०८०/८१ मा मा २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट थियो । चालू तर्फ ३२.७९ प्रतिशत, पुँजीगततर्फ ५८.१६ प्रतिशत, अन्तरसरकारी वित्त हस्तान्तरणमा ८.०२ प्रतिशत र वित्तीय व्यवस्थापनमा १.०३ प्रतिशत विनियोजन गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष २.२१ प्रतिशतले चालू खर्च बढेको छ ।