रास्वपा सचेतक परियार भन्छन् : ‘जनताको विश्वासलाई परिणाममा बदल्छौँ, स्थानीय तहको नेतृत्वका लागि तयार छौँ’

राम्रो अनलाइन     ११ कात्तिक २०८३, बुधबार
रास्वपा सचेतक परियार भन्छन् : ‘जनताको विश्वासलाई परिणाममा बदल्छौँ, स्थानीय तहको नेतृत्वका लागि तयार छौँ’

विराटनगर–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले विकास, सुशासन, आत्मनिर्भरता र समृद्धिको लक्ष्यसहित आफूहरू शपथ ग्रहणकै दिनदेखि अहोरात्र काममा जुटिरहेको बताएका छन्।

विराटनगरमा आयोजित पार्टीका अगुवाहरूसँगको अन्तर्क्रियामा बोल्दै सचेतक परियारले सम्मानजनक मध्यम आय भएको आत्मनिर्भर नेपाल निर्माण गर्ने रास्वपाको लक्ष्य सामान्य नभएको बताए।

जनतासामु गरिएका प्रतिबद्धताअनुसार काम, परिणाम र सुशासन सुनिश्चित गर्न पार्टी तथा सरकार निरन्तर क्रियाशील रहेको उनको भनाइ थियो।

‘एक दशकभित्र सम्मानजनक मध्यम आय भएको आत्मनिर्भर दक्षिण एसियाली राष्ट्र बनाउने हाम्रो सपना चानचुने प्रयासले सम्भव छैन। त्यसैले वाचापत्रअनुसार काम, परिणाम र सुशासन ल्याउन हामी शपथ ग्रहणकै दिनदेखि अहोरात्र खटिरहेका छौँ,’ उनले भने।

रास्वपा नेता परियारले विकास, समृद्धि र सुशासनप्रतिको जनताको अपेक्षालाई व्यावहारिक परिणाममा रूपान्तरण गर्नु आफूहरूको प्रमुख जिम्मेवारी भएको बताए।

सरकार र पार्टीले जनतासामु गरेका प्रतिबद्धतालाई परिणाममा बदल्न इमानदार प्रयास गरिरहेको उनको भनाइ थियो।

परियारले संसद्लाई जनताका सवाल उठाउने र सरकारलाई जवाफदेही बनाउने प्रभावकारी थलोका रूपमा प्रयोग गर्नुपर्ने बताए।

जनसरोकारका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आफूहरू निरन्तर सिक्ने, कमजोरी सच्याउने र आत्मसुधारको प्रक्रियामा रहेको उनले बताए।

राजनीतिक दल तथा जनप्रतिनिधिले आफूलाई सधैँ सही ठान्नुभन्दा जनताका प्रश्न, आलोचना र सुझावलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो।

रास्वपाका नेता, सांसद, मन्त्री तथा अन्य अगुवाहरूमा पद र शक्तिका कारण अहङ्कार बढ्न सक्ने सम्भावनाप्रति सचेत रहन आग्रह गर्दै परियारले सञ्चारमाध्यम र नागरिक समाजलाई निरन्तर रचनात्मक खबरदारी तथा निगरानी गर्न अपिल गरे।

‘हामीबाट पनि कमजोरी हुन सक्छ। गलत काम वा गलत कार्यशैली देखिएमा खबरदारी गर्नुस्। पद र शक्तिको अहङ्कार बढ्न नदिन सञ्चारमाध्यम र नागरिक समाजको रचनात्मक निगरानी आवश्यक छ,’ उनले भने।

जनताले दिएको विश्वासलाई उपलब्धि र परिणाममा रूपान्तरण गर्नु आफूहरूको दायित्व भएको बताउँदै परियारले सुशासन, जवाफदेहिता र परिणाममुखी कार्यसम्पादनलाई प्राथमिकतामा राखेर अघि बढिरहेको स्पष्ट पारे।

सचेतक परियारले अब स्थानीय तहको नेतृत्वका लागि रास्वपाले सक्षम, स्वच्छ छवि भएका र इमानदार नेताहरूलाई अघि बढाउने सङ्केत गरे।

स्थानीय सरकारमा रास्वपाले नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै उनले त्यसका लागि उत्कृष्ट कार्यसम्पादन गर्न सक्ने, परिणाम दिन सक्ने र उच्च छवि भएका नेताहरूलाई अघि सार्न स्थानीय नेतृत्वलाई आग्रह गरे।

स्थानीय तहको नेतृत्व सम्हालेर जनताले अनुभूति गर्ने गरी परिणाम दिने अवसरका लागि पूर्ण तयारीमा जुट्न उनले पार्टीका अगुवा तथा कार्यकर्तालाई निर्देशन दिए।

सचेतक परियार सिरहा, सुनसरी, मोरङ र धनकुटाका विभिन्न कार्यक्रममा सहभागी भएका थिए।

प्रतिक्रिया