नेपाली म्युजिक भिडियोको क्षेत्रमा पछिल्लो समय व्यस्त बनेकी कलाकार हुन्, रेखा लिम्बू। लगातार भिडियोमा अभिनय गरिरहेकी रेखाले छोटो समयमै दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। उनले विल्सनविक्रम राईसँगै अभिनय गरेको भीषण मुकारुङको नयाँ गीत ‘खोर्सानी डल्ले’ स्रोता–दर्शकमाझ चर्चित छ। उनको अभिनय रहेको यो गीत छोटो समयमै करिब आठ लाख दर्शकले हेरिसकेका छन्। उनले अभिनय गरेका अन्य भिडियोले पनि युट्युबमा धेरै भ्युज पाएका छन्।
रेखाले रजिना रिमाल, राजेशपायल राई, सविन राई, मिलन नेवार, दीपक लिम्बू, योगेश लिम्बूलगायत कलाकारको गीतमा अभिनय गरेकी छिन्। उनको अभिनयलाई दर्शकले मन पराएका छन्। रेखा भविष्यमा असल अभिनेत्री बन्न चाहन्छिन्।
नेपाली फिल्म ‘तारेभीर’मा एक्सन नायिकाका रूपमा डेब्यू गरेकी रेखाले फिल्मबाट मेहनत अनुसारको सफलता त पाइनन्। तर, उनको अभिनयको भोक झनै बढ्यो। हुन त उनले फिल्मभन्दा पहिला नै धेरै वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी थिइन्। सानैदेखि नृत्य सिकेकी उनले फिल्मकै लागि मार्सल आर्ट सिकिन्।
फिल्ममा सोचेजस्तो सफलता नपाए पनि उनको कलाको चर्चा भयो। त्यसपछि अभिनेता शिव श्रेष्ठ लगायतले निर्माण गरेको फिल्म ‘यस्तो एउटा प्रेम कहानी’मा पनि मौका पाइन्। तर, फिल्मको निर्माण अहिलेसम्म पूरा भएको छैन। अहिले उनी सुरज सुब्बा नाल्बोको नयाँ फिल्म ‘हृदयभरि’का लागि अनुबन्धित भएकी छिन्। भन्छिन्, ‘फिल्म सुरु नहुञ्जेल भिडियोमा काम गरिरहेकी छु।’
अभिनयको भोकले धरानबाट काठमाडौँ पुगेकी रेखा नाटकमा पनि अभिनय गर्न चाहन्छिन्। उनी अहिले कलाकार वीरेन्द्र हमालसँग अभिनय कक्षा लिइरहेकी छिन्।
उनले काठमाडौँमै क्लासिकल डान्स सिकेर प्रस्तुति पनि दिएकी छिन्। कला क्षेत्रमै सफल बनेर नाम कमाउने लक्ष्य लिएकी रेखाले यसमै आफ्नो भविष्य खोजिरहेकी छिन्।
म्युजिक भिडियोमा अभिनय गरिरहेकी रेखा ‘मिस लिम्बू’बाट सहभागी भएपछि यो क्षेत्रमा प्रवेश गरेकी हुन्। सानैमा बालनाटकमा अभिनय गरेकी उनलाई त्यसैबेलादेखि अभिनयले तान्यो। उनी कलाकारिता क्षेत्रमा लागेको परिवारले खासै मन पराएको थिएन तर उनले परिवारको गाली सहँदै कलाकारितालाई निरन्तरता दिइरहिन्। भन्छिन्, ‘अहिले परिवारले पनि बुझ्न थालेको छ।’
रेखा कलाकर्ममै भविष्य बनाउन काठमाडौँ पुगेकी हुन्। कलाकारितामा प्रवेश गर्दा सुरुमै आर्थिक समस्या पर्न सक्छ। अझ परिवारको समर्थन नहुँदा झनै गाह्रो हुन सक्छ। रेखाले आफू कलाकारितामा सक्रिय हुनका लागि दिदी रसुसँग मिलेर ढाका बुटिक खोलिन्। त्यसबाट भएको बिक्रीबाट उनलाई आफू चल्न खर्च पुग्न थाल्यो।
अहिले म्युजिक भिडियोबाट आम्दानी हुन थालेपछि कलाकारिताबाटै टिक्क सकिने सम्भावना देखेकी छिन्, उनले। ‘कलाकारितामा अरू पेशामा जस्तो कमाइ हुँदैन,’ उनी भन्छिन्, ‘त्यसैले पनि धेरैका परिवारले कलाकारितामा लाग्न प्रेरित गर्दैनन्।’ रेखालाई पनि सुरुमा त्यस्तै भयो। तर, उनले हिम्मत नहारी परिवारलाई सम्झाइबुझाइ गरिन्। बिस्तारै उनको भिडियो टेलिभिजन, युट्युबमा हेरेपछि परिवार खुशी भयो। भन्छिन्, ‘परिवारले आफ्ना सन्तान असल बाटोमा लागून् भन्ने सोच्छ। हाम्रै राम्रोका लागि उहाँहरूले त्यस्तो भन्नुभएको हो। हामीले विश्वास दिलाउन सक्यौँ भने गाह्रो हुन्न रहेछ।’