काठमाडौँ– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्यान्ड र जर्मनी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–२ बस्ने काठमाडौं महानगरपालिका(१४ घर भएकी ३३ वर्षीया विनीता नगरकोटी र भक्तपुर मध्यपुर थिमी नगरपालिका–२ राधे राधे बस्ने मोरङ बेलबारी नगरपालिका(२ घर भएकी ३६ वर्षीया बेनु श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये विनीताले पोल्यान्ड पठाइदिन्छु भन्दै एक जना पीडितबाट एक लाख २० हजार रुपैयाँ र बेनुले जर्मनी पठाइदिन्छु भन्दै एक जना पीडितबाट १६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितले उजुरी दिएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विनीतालाई कीर्तिपुर नगरपालिका–२ बाट मंगलबार र बेनुलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ राधेराधेबाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।