सुनसरी–कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले विदेशमा रहेका गैरआवासीय नेपालीलाई कोशी प्रदेशमा धेरै क्षेत्रमा सम्भावना रहेकाले लगानी गर्न आग्रह गरेका छन्।आज गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को सहयोगमा नेपाल रेडक्रस सोसाइटी सुनसरीलाई रक्त सङ्कलन घुम्ती बस हस्तान्तरणका अवसरमा प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा लगानी गर्न आउनेलाई प्रदेश सरकारले संरक्षण र प्रवद्र्धन गर्ने बताए । ‘कोशी प्रदेशमा लगानी धेरै सम्भावना छन्, तपाईंहरु लगानी गर्नका लागि आउनुहोस् । सरकारले पुँजी, श्रम र प्रविधिको संरक्षण र प्रवद्र्धन गर्नेछ’, उनले भने।
प्रदेशको विकासका लागि गैरआवासीय नेपालीको पनि महत्वपूर्ण भूमिका हुने भएकाले प्रदेश सरकारले लगानीको वातावरण बनाउन कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री कार्कीको भनाइ थियो । मुलुकको विकासका लागि देशभित्र र बाहिर रहने सबै नेपालीको एकता आवश्यक रहेको बताए । उनले गैरआवासीय नेपाली सङ्घले रक्त सङ्कलन बस उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष डा बद्री केसीले आफूहरु विदेशमा रहे पनि मनमा सधैँ नेपाल रहिरहने र नेपालका लागि सक्दो सहयोग तथा लगानी गर्ने बताए । नेपाल रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापाले बस उपलब्ध भएपछि रगत सङ्कलन गर्न सहज हुने बताए । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।