यसकारण उकालो लाग्दैछ सङ्क्रमणको ग्राफ

एकै दिनमा थपिए ४५७ जना कोरोना सङ्क्रमित, एकको मृत्यु
राम्रो अनलाइन     ०२ साउन २०७९, सोमबार
यसकारण उकालो लाग्दैछ सङ्क्रमणको ग्राफ


काठमाडौँ–कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या आजसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ ।

असार २६ गते १२१ मा सङ्क्रमण र ६७८ सक्रिय सङ्क्रमित रहेकोमा आज सक्रिय सङ्क्रमित एक हजार ७७६ पुगेका छन् । आइतबार साउन १ गते र आज सङ्क्रमणका कारणले एक÷एक सङ्क्रमितको ज्यान गएको छ । सङ्क्रमण असारदेखि उकालो लाग्न थालेको हो । असार २७ गते १६८, असार २८ गते १७७, असार २९ गते २०६ असार ३० गते २६०, असार ३१ गते २२९, असार ३२ गते २०५ र साउन १ गते १३५ मा सङ्क्रमण देखिएको छ । शून्य दशमलव पाँच प्रतिशतमा रहेको सङ्क्रमण अहिले ९।८२ प्रतिशत पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित काठमाडौँ जिल्लामा रहेका छन् । शून्य सङ्क्रमित हुने जिल्ला पनि घटेर आठ मात्र पुगेको छ । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दास भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको बताउँछन् । ‘भारतमा दैनिक सङ्क्रमण बढिरहेको छ । भारतबाट हजारौँ मानिस नेपालको सीमा हुँदै प्रवेश पनि गरिरहेका छन्’, उनले भने, ‘ती सीमा नाकाबाट प्रदेश गर्नेमा दैनिक सङ्क्रमण देखिएको छ । ती मानिसले नै सङ्क्रमण सारिरहेका छन् ।’
    
उनका अनुसार भारतमा सङ्क्रमण बढ्नुका साथै नेपालमा जनस्वास्थ्यका मापदण्ड लागू नगर्नाले सङ्क्रमण बढेको हो । मानिसले जनस्वास्थ्यका मापदण्ड मास्क नलगाउने, भीडभाड गर्ने, साबुन पानीले हात नधुने, भौतिक दूरी कायम नगर्ने जस्ता कारणले पनि सङ्क्रमण फैलिएको बताइन्छ । 

नेपालमा पनि अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा ओमिक्रोन भेरियन्ट ‘विएफाइभ’ प्रजातिको  सङ्क्रमित भेटिएको छ । उनले बिएफाइभ प्रजातिको सङ्क्रमण फैलिने उच्च दर रहेकाले अहिले सङ्क्रमित बढेको बताए । महाशाखाका निर्देशक डा दासले सङ्क्रमित बढ्न थालेपछि अस्पताल र प्रयोगशालालाई तयारी अवस्थामा राखिएको बताए ।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावल  गत हप्तादेखि बिरामी उपचारका लागि आउने गरेको बताउँछन् । उनका अनुसार अस्पतालमा तेस्रो लहरपछि पहिलो पटक असारमा बिरामी उपचारका लागि आएका थिए । अहिले अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ । तीमध्ये सघन उपचार कक्ष (आइसियु) मा एक र चारले क्याबिनमा उपचार गराइरहेका छन् ।
 
अस्पतालमा हिजो साउन १ गते ३८ परीक्षण गर्दा १८ मा कोरोना पोजिटिभ देखिएको थियो । उनले अहिलेका बिरामीमा ज्वरो, रुघाखोकी भए पनि गम्भीर नरहेको र अक्सिजन नचाहिएको बताए । 

एकै दिनमा थपिए ४५७ जना कोरोना सङ्क्रमित, एकको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । 

पछिल्लो २४ घण्टामा चार हजार ६५१ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ३४१ जनाले पिसीआर र दुई हजार ३१० जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ४८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६८ हजार ६४ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ९८ हजार ९०० ले कोभिड विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७७६ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ । होम आइसोलेशनमा एक हजार ७०१,  संस्थागत आइसोलेशनमा ७५, आइसियु १५ र भेण्टिलेटरमा एक सङ्क्रमित रहेका छन् । 

हाल ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, मनाङ, मुस्ताङ, जाजरकोट, कालीकोट, मुगु, बाजुरा र डढेलधुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार १३, ललितपुर ९२ र भक्तपुरमा २८ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमण दर १७ प्रतिशत रहेको छ । 
 

प्रतिक्रिया