विपिन जोशीको रिहाइका लागि प्रयासरत छौँ : मन्त्री साउद

राम्रो अनलाइन     २७ पुस २०८०, शुक्रबार
विपिन जोशीको रिहाइका लागि प्रयासरत छौँ : मन्त्री साउद

डडेल्धुरा– मन्त्री साउदले इजरायलमा बिद्रोही समूह हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन्। ‘विपिनको रिहाइका लागि पटक–पटक हामीले इजरायल सरकारसँग पनि आग्रह गरेका छौँ’, उनले भने, ‘मैले कतारका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु ।’ उनले दोस्रो युद्धविरामका बेला विपिनको रिहाइ हुने विश्वास व्यक्त गरे ।

‘कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ । दोस्रो युद्ध विराममा विपिन सकुशल फर्किने अपेक्षा छ’, उनले भने, ‘पहिलो चरणमा महिला र बालबालिका प्राथमिकतामा परेका र अब विपिनको रिहाइ हुनेमा आशावादी छौँ । विपिन सुरक्षित हुनुहुन्छ । उहाँ चाँडै रिहा हुनुहुनेछ ।’

मन्त्री साउदले रुसी सेनामा भर्ती भएकाहरु नेपाल सरकारको अनुमति लिएर त्यहाँ भर्ती नभएको स्पष्ट पारे । उनीले विद्यार्थी भिसा, भिजिट भिसालगायतमा रुस पुगेका त्यहाँको सेनामा भर्ती भएको बताए । रुसमा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको जानकारी प्राप्त भएको र आठ शव अहिले त्यहाँको शवगृहमा राखिएको मन्त्री साउदले जानकारी दिए ।
 
शव नेपाल ल्याउनका लागि कूटनीतिक पहल भइरहेको मन्त्री साउदको भनाइ छ । उनले भने, ‘त्यसबाहेक एक सय ३३ परिवारले हामीलाई आफ्ना परिवारका सदस्य त्यहाँ पुगेको र जोखिममा परेका भनेर आग्रह गरेअनुसार हामीले उहाँहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका छौँ ।’
 

प्रतिक्रिया