काठमाडाैं – उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयक अन्य देशको अभ्यासलाई समेत अध्ययन गरेर अगाडी बढाउने बताए ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री भण्डारीले विद्युतीय व्यापार विधेयक २०८० का सम्बन्धमा छलफल भइरहेको र सम्बन्धित क्षेत्रका विज्ञहरुसँग समेत थप छलफल गरी अगाडि बढाउने बताए ।
मन्त्री भण्डारीले यसबाट मुलुकको व्यापार घाटा न्यूनीकरण तथा विश्व बजारले हाम्रा उत्पादित वस्तुहरू चिन्ने सम्बन्धमा पनि सहयोग पुग्ने भएकाले संशोधनकर्ताका विचारलाई समेत समावेश गरी यसलाई समृद्ध बनाउने र चालु अधिवेशनबाट नै विधेयक पारित गर्ने गरी अगाडी बढाउने बताए ।
बैठकमा संशोधनकर्ता सांसदहरुले विधेयक नियन्त्रणमुखी बनाउन नहुने भन्दै कानुन बनाउँदा पुर्णरुपमा परिभाषित र सबैलाई समान रुपमा लागु हुने खालको बनाउनुपर्ने बताए ।
विधेयक पारित गर्दा नयाँ युगमा उत्पादन, वितरण, विनिमय र नियमन पनि नयाँ कोणबाट व्याख्या गरिनुपर्ने भन्दै फरक फरक प्रकारका व्यवसायीलाई एउटै नजरले हेर्न नहुने धारणा पनि संशोधनकर्ता सांसदहरुले राखे।