विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री प्रचण्ड 

राम्रो अनलाइन     २९ चैत २०८०, बिहिबार
विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री प्रचण्ड 


काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसङ्घका प्रतिनिधिमण्डलसँगको भेटमा उनले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न इच्छुक रहेको बताए। 

प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्तालाई सरकारले ‘लजिस्टिक’ सहयोग गर्ने उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गरे । प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालका साथै अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग समेत भेटवार्ता गरेको थियो । उक्त भेटमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत पदाधिकारीसमेत सहभागी थिए। 

सो अवसरमा अर्थमन्त्री पुनले नेपालको अर्थतन्त्रमा पनि भारतीय अर्थतन्त्रको ठूलो भूमिका रहेको उल्लेख गर्दै नेपाल र भारतबीचको व्यापार तथा लगानी प्रवद्र्धनका लागि सक्दो प्रयास गर्ने विश्वास दिलाए । भेटमा उद्योगमन्त्री भण्डारीले नेपालमा विदेशी लगानीकर्ताले स्थापना गर्ने उद्योगलाई सहजीकरण गर्न आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारणसभामा सहभागी हुन भारतीय उद्योग परिसङ्घका अध्यक्ष सञ्जीव पुरीको नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौँ आएको थियो । महासङ्घको वार्षिक साधारणसभामा पुरी मुख्य वक्ता थिए। 

प्रतिक्रिया