ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौँः ऊर्जामन्त्री खड्का

राम्रो अनलाइन     ०६ साउन २०८२, मङ्गलबार

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जामार्फत सरकारले बिपी कोइरालाले देखाएका समृद्ध मुलुकको सपना पूरा गर्न लागेको बताएका छन् । 

महामानव बिपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आज बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजित ‘बिपी स्मरण कार्यक्रम’मा उहाँले ऊर्जामार्फत बिपी कोइरालाले देखाएका समृद्ध मुलुक निर्माणको सपना पूरा गर्न लागेको बताएका हुन् । 

मन्त्री खड्काले बिपी कोइरालालाई नेपाली जनचेतना र अधिकारका प्रतीकका रूपमा स्मरण गरे । ‘बिपी कोइराला अन्तरराष्ट्रिय ख्याति प्राप्त व्यक्तित्व मात्र होइन, उहाँको आदर्श, दृष्टिकोण र जीवनशैली आजको राजनीतिक सन्दर्भमा अझ सान्दर्भिक र प्रेरणादायी छन्’, मन्त्री खड्काले भने ।

उनले बिपीले आफ्नो व्यक्तिगत जीवनको सुख सुविधा र  सुरक्षाभन्दा विचार तथा मूल्यलाई महत्व दिएको बताए। मन्त्री खड्काले बिपी कोइरालाको दीर्घ सङ्घर्षले नेपाली जनतालाई रैतिबाट नागरिक बनाउने प्रक्रिया अघि बढाएको उल्लेख गरे । ‘बिपीले जेल, यातना र आत्मनिवेदन सहनुभयो । तर, जनताप्रति विश्वास गुमाउनु भएन, आज पनि उहाँले देखाएको बाटो हाम्रो मार्गदर्शन हो’,  उनले भने ।

राज्यले नागरिकका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने दायित्वबोध बिपीको राजनीतिक दर्शनमा स्पष्ट रूपमा झल्किने उनको भनाइ थियो । मन्त्री खड्काले बिपीको सम्पूर्ण जीवन नेपाली जनता र राष्ट्रहितमा समर्पित रहेको स्मरण गरे ।

मन्त्री खड्काले बिपीको आत्मनिर्भर राष्ट्र निर्माणको सोचसँग ऊर्जा क्षेत्रको विकासलाई जोड्दै लगिएको बताए । ‘आज हामी ऊर्जा उत्पादन, प्रसारण र विस्तारमा आत्मनिर्भरतातर्फ लम्किरहेका छौँ, बिपीले देखेको समृद्ध नेपालको सपना साकार पार्न सबैको साझा प्रयास आवश्यक छ’, उनले भने । 

प्रतिक्रिया