काठमाडौँ–नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद मोहन आचार्यले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धारलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत उनले चीनको तिब्बततर्फबाट आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएर दुई देशबीचको आवागमन पूर्णरूपमा अवरुद्ध भएको घटनाले सबै नेपालीलाई मर्माहित बनाएको उल्लेख गरेका छन्।
“बाढीका कारण रसुवाको टिम्मुरे भन्सार यार्ड, त्यहाँ रहेका सामग्री र अन्य महत्त्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ“, सांसद आचार्यले उल्लेख गरेका छन्, “उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत जोखिममा परेको खबरले थप चिन्ता सिर्जना गरेको छ ।”
मानवीय क्षतिको आशंका र उद्धारमा देखिएको कठिनाइका कारण क्षतिको सम्पूर्ण विवरण अझै आइनसकेको जनाउँदै उनले सरकार, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षले उद्धार तथा राहत सामग्र वितरणलाई उच्चतम प्राथमिकता दिनुपर्नेमा जोड दिए।
अहिले आफू प्रभावित क्षेत्रमा रहेको उल्लेख गर्दै सांसद आचार्यले उद्धार अझ प्रभावकारी र समन्वित बनाउनुपर्ने आवश्यकता औँल्याए। सङ्कटको घडीमा सरकारको सक्रियता निर्णायक हुने उनको भनाइ छ ।
उनले बाढीबाट प्रभावित सम्पूर्ण नागरिकप्रति सहानुभूति प्रकट गरेका छन्। “हामी सदैव तपाइँहरूको साथमा छौँ,” उनले भनेका छन्, “हामी सबै एकजुट भएर यो विपत्तिलाई पार गर्नेछौँ भन्ने दृढ विश्वास लिएको छु ।”