ठूलो मात्रामा लगानी गर्न पूर्वअर्थमन्त्री डा महतको आग्रह

राम्रो अनलाइन     १६ वैशाख २०८१, आइतबार
ठूलो मात्रामा लगानी गर्न पूर्वअर्थमन्त्री डा महतको आग्रह


काठमाडौँ–नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले लगानीका लागि नेपाल राम्रो गन्तव्य भएको बताएका छन्। आजदेखि सुरु भएको लगानी सम्मेलनको  सत्रलाई सम्बोधन गर्दै उनले सरकारी नीतिमा स्थिरता रहेको, भारत र चीनजस्ता ठूला छिमेकी देश भएकाले बजारको समस्या नरहेको बताए। 

उद्योग सञ्चालनमा श्रमिकको समस्या नरहेको, मुनाफा आर्जन गरेर लैजान पाउने कानुनी व्यवस्था रहेको लगायतका कारण विदेशीहरुलाई नेपालमा ठूलो मात्रामा लगानी ल्याउन उनले आग्रह गरे। 

पूर्वअर्थमन्त्री डा महतले पार्टीहरुबीच राजनीतिक विचारधारा फरक भए पनि सम्बन्ध राम्रो रहेको भन्दै लगानीकर्ता अन्योलमा रहनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । ‘विचारधारा फरक भए पनि हामी एकताबद्ध भएर काम गर्छौं । सरकारमा भए पनि नभए पनि हाम्रो धारणा एउटै हुन्छ, नीति र कानुनमा स्थिरता छ,’ उनले भने, ‘लगानीमैत्री वातावरणका लागि कानुनमा सुधार गरिएको छ । लगानीका धेरै अवसर छन्, त्यसैले अवसरको सदुपयोग गर्न आग्रह गर्छौं ।’ 

डा महतले जलविद्युत् लगानीको मुख्य क्षेत्र भएको उल्लेख गरे । ‘बजारको समस्या छैन । भारतले १० हजार मेगावाट लिने गरी दीर्घकालीन सम्झौता गरेको छभने बङ्गलादेश पनि विद्युत् लैजान इच्छुक छ,’ उनले भने।

भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् लाने गरी गत पुस १९ गते दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरेको थियो ।

डा महतले पर्यटन, कृषि र सूचना प्रविधि  लगानीकर्ताका लागि राम्रो क्षेत्र भएको उल्लेख गरे । ‘फरक फरक तापक्रमको भूगोल छ । सांस्कृतिक पक्षमा  उस्तै विविधता छ,’ उनले पर्यटनमा लगानी गरेर मुनाफा कमाउन सकिने बताए।

‘नेपाल अग्र्यानिक उत्पादनका लागि हब हो । कृषिमा लगानी गर्न चाहनेका लागि नेपालमा स्वागत छ । यो उत्कृष्ट गन्तव्य हो,’ उनले भने, ‘सूचना प्रविधि पनि लगानीको क्षेत्र हो, कोभिडपछिको निर्यातले यसको पुष्टि गरेको छ ।’
    
सूचना प्रविधि क्षेत्रले गत वर्ष ६७ अर्बको सेवा निर्यात गरेको तथ्याङ्क छ । ‘हामीकहाँ सबैभन्दा तीव्ररुपमा विकास भएको क्षेत्र सूचना प्रविधि हो । यो क्षेत्रलाई प्रोत्साहन गर्न ५० प्रतिशत कर छुट गरिएको छ,’ डा महतले भने।

उनले धेरैजसो उत्पादनको  बजार नेपाल नै भएकाले लगानीकर्ता अलमलमा नपर्न आग्रह गरे। नेपालमा व्यक्तिगत रुपमा सानो लगानीभन्दा व्यावसायिक रुपको ठूलो लगानीको खाँचो रहेको उनको भनाइ थियो ।
 

प्रतिक्रिया