टिस्टुङ, २ माघ : कार्यसम्पादन मूल्याङ्कनमा लगातार दुई वर्ष जिल्लामै उत्कृष्ट ठहरिएको मकवानपुरको थाहा नगरपालिकाले चालू आर्थिक वर्षको छ महिनामा जम्मा २४ प्रतिशत मात्र खर्च गरेको छ । बजेट अधिवेशनबाट हिउँदे अधिवेशनसम्म पुग्दा छ महिनाको अवधिमा एक चौथाइ मात्र काम हुनुले यस वर्ष कार्यतालिकाअनुसार नगरपालिकाले काम गर्न नसकेको देखिएको छ ।
सातौँ नगरसभाले छनोट गरेका योजनाको हालसम्म २५ प्रतिशत मात्र काम सकिएको नगरप्रमुख लवशेर विष्टले बताए । चालू आव २०७७÷७८ को आधा अवधि सकिँदा राष्ट्रिय आँकडामा १४.१ प्रतिशत पूँजीगत खर्च भएको छ । नगरपालिकाको यो अवधिको खर्च राष्ट्रिय आँकडाभन्दा बढी देखिए पनि सन्तोषजनक नभएको स्वयं जनप्रतिनिधिहरु स्वीकार्छन् ।
नगर कार्यपालिकाले नगरसभाबाट पारित सम्पूर्ण योजना चालू आवको फागुन मसान्तसम्म सक्ने गरी योजना बनाएको थियो । अहिलेसम्म ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसक्नुपर्नेमा विविध कारण त्यसो हुन नसकेको उपप्रमुख खड्गबहादुर गोपालीले बताए । गत आर्थिक वर्ष २०७६÷७७ को यो अवधिमा थाहा नगरपालिकाले ३८ प्रतिशत खर्च गरेको थियो । यस वर्षको यो अवधिमा चालूतर्फ रु दुई करोड ८० लाख ५८ हजार र पूँजीगततर्फ रु १८ करोड ४९ लाख ६७ हजार गरी कूल रु २१ करोड ३० लाख २५ हजार खर्च भएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए ।
नगरपालिकाले चालू आवका लागि रु ८९ करोड ३१ लाख २८ हजारको बजेट पारित गरेको थियो । चालूतर्फ भने ३१.७१ प्रतिशत खर्च गरेको छ । नगरपालिकामा चालूतर्फ रु आठ करोड ८४ लाख ६७ हजार विनियोजन गरिएको थियो । कोभिड–१९ का कारण आन्तरिक आय घट्न सक्ने र केन्द्रीय बजेटसमेत घट्न सक्ने कारण देखाउँदै चालू आर्थिक वर्षको बजेटमा नगरपालिकाले कुनै संशोधन गरेको छैन । गत असार १९ गते बसेको सातौँ नगरसभाले पारित बजेटलाई आठौँ नगरसभाले जस्ताको तस्तै पारित गरेको उपप्रमुख गोपालीले जानकारी दिए ।
सातौँ नगरसभाले चालू आव २०७७÷७८ का लागि कूल रु ८९ करोड ३१ लाख २८ हजारको बजेट पारित गरेको थियो । नयाँ बजेटमा आन्तरिक आय रु २३ करोड ९० लाख ५५ हजार आम्दानी अनुमान गरिएको छ भने अन्य आम्दानीमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, सशर्त अनुदान, राजश्व बाँडफाँट, समपूरक अनुदान र विशेष अनुदानबापतको रकम समावेश गरिएको छ ।