काठमाडौं– सर्वोत्तम सिमेन्ट कम्पनीले साधारण सेयर (आईपीओ) आज बुधबारदेखि निष्कासन गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको छ ।
उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई ९ लाख ३० हजार कित्ता सेयर निष्कासन गरिएको छ । यस्तै कम्पनीले २ लाख ६७ हजार कित्ता सेयर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।
कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सेयर निष्कासन गरेको छ । आईपीओमा न्यूनतम ५० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उद्योग प्रभावित क्षेत्रका स्थानीयले माघ १० गतेसम्म आवेदन दिन सक्न्छन् ।
उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा माघ १० गते हुनेछ भने ढिलोमा माघ २५ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १० गतेसम्ममा आवेदन दिनु पर्नेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।