समृद्धिको यात्रामा सबैको ऐक्यबद्धता आवश्यक छ : वरिष्ठ उपाध्यक्ष ढकाल

राम्रो अनलाइन     २८ फागुन २०७८, शनिबार
समृद्धिको यात्रामा सबैको ऐक्यबद्धता आवश्यक छ : वरिष्ठ उपाध्यक्ष ढकाल


रत्ननगर– नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक समृद्धिसँग जोडिने विषयमा सबैको ऐक्यबद्धता हुनु आवश्यक रहेको बताएका छन् । उद्योग वाणिज्य सङ्घ चितवनको ५५औँ वार्षिक साधारणसभा एवं अधिवेशनको  उद्घाटन गर्दै उपाध्यक्ष ढकालले व्यवसायी, राजनीतिक दल र सरकारको एकमत भएमा आर्थिक समृद्धितर्फ अघि बढ्न सहज हुने बताए ।

सबैको सहकार्यमा संसारको सबैभन्दा राम्रो पर्यटकीयस्थलका रूपमा चितवनलाई स्थापित गराउन सकिने सम्भावना रहेको समेत ढकालले बताए । ‘यहाँका सम्भावित सबै प्रकारका उद्योगमा मेरो व्यक्तिगत, नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थागत तथा म अध्यक्ष रहेको बैंकको तर्फबाट जोडिन तयार छु’, ढकालले भने, ‘अहिलेको विषम परिस्थितिबाट माथि उठ्नका लागि सबैको साथ र सहयोग आवश्यक छ ।’ कोभिड–१९ को सङ्क्रमण तथा दुई देशको युद्धका कारण सबै क्षेत्रमा मूल्यवृद्धि भइरहेको ढकालको भनाइ छ ।

‘आगामी दिन अझ कठिन हुन सक्नेतर्फ हामी सबै सचेत हुनु जरुरी छ’, ढकालले भने, ‘यो अवस्थाबाट पार हुन सबै पक्ष जिम्मेवार भएर अगाडि बढ्नुपर्छ । उद्योग वाणिज्य सङ्घ चितवनको साधारणसभा उद्घाटनका क्रममा व्यवसायी, पत्रकार तथा कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया