नेकपा (एमाले) का नेता घनश्याम भुसालले सरकारमा गएर मात्रै रुपान्तरण नहुने कुरा ३०/४० वर्ष कम्युनिष्ट पार्टी सरकारमा गएबाट स्पष्ट भएको बताए । त्यसले रुपान्तरण गर्न सकेन भने कुनै पनि अर्थ नहुने भुसालको भनाइ थियो । उनले नेपालमा जनवादी क्रान्ति सकिएकाले अबको बाटो समाजवादी क्रान्ति नै भएको र त्यसका लागि पहिले कृषि क्रान्ति आवश्यक भएको बताए ।
समाज र विज्ञानले पुष्टि गर्ने योजना नभएमा जस्तो सुकै अवधारणा पनि सफल नहुनेमा उनको जोड थियो । उनले कुनै पनि मुलुकमा समाजवाद एकैपटक नआउने र चरणचरणमा आउने भन्दै दलाल पूँजीपति परम्पराले समाजवादको बाटोलाई अवरोध गर्ने बताए । उनले भने, ‘जुन दिन बाध्यताले विदेश पुगेका नेपालीहरू सबै फिर्ता हुन्छन्, त्यही दिनबाट समाजवादको चरण सुरु हुनेछ ।’ त्यसका लागि पहिले कृषि क्रान्ति हुनुपर्ने र त्यपछि उत्पादनमूलुक उद्योगको विकास जरुरी रहेको बताए । त्यसपछि गुणस्तरीय शिक्षा र स्वास्थ्य सुलभता हुनुपर्नेमा उनको जोड थियो ।