शीतलहर प्रभावित क्षेत्रमा दाउरा वितरण

राम्रो अनलाइन     १५ पुस २०८२, मङ्गलबार
शीतलहर प्रभावित क्षेत्रमा दाउरा वितरण

राजविराज– शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि राजविराज नगरपालिकाले नगर क्षेत्रभित्र दाउरा वितरण सुरु गरेको छ ।

नगरका कार्यवाहक प्रमुख इसरत परविनका अनुसार ट्याक्टरमार्फत नगरपालिकाका कर्मचारीको टोलीले नगरको चोक र अस्पतालमा दाउरा वितरण सुरु गरेको हो ।

कार्यवाहक प्रमुख परविनले विगत एक हप्तादेखि बढेको जाडोबाट प्रभावित स्थानमा दाउरा अभावमा कसैले कठ्याङ्ग्रिनु नपरोस् भन्ने उद्देश्यले निःशुल्क वितरण गरिएको बताए ।

उनले भने, ‘अहिले आफ्नो दैनिकी जीवन चलाउन कामसँगै सबैले न्यानो भएर बस्न आवश्यक छ । बजार, अस्पताल, कार्यालय आउने कर्मचारी तथा सर्वसाधारणलाई न्यानोका लागि यो दाउराले थोरै भए पनि जाडो छल्न राहत मिल्नेछ ।’ नगरपालिकाका अनुसार मुख्य बजारसहित वडा नं.१, २, ३, ४, ५, ६ र ७ वडामा दाउरा वितरण गरिएको छ  । 

राजविराज नगरपालिका–७ का स्थानीय राजेश चन्द्र यादवले  दाउरा वितरण थालिएपछि सर्वसाधारणलाई चिसोबाट थोरै राहत महसुस भएको बताए । शीतलहरका कारण जनजीवन प्रभावित भएपछि सप्तरीका राजविराजसहित तीन स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । चिसोकै कारण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दैनिक बिरामी आउने क्रम बढेको जनाइएको छ । 

त्यसैगरी बरख गण राजविराजबाट सेनानी भरत गिरीको कमान्डमा १÷१६  नफ्री मा राजविराज नगरपालिका–२, ५, र ७ वडा र विभिन्न ११  स्थानमा  करिब २०० जना स्थानीयलाई लाभान्वित हुने गरी जिल्ला वन डिभिजनको सहयोगमा दाउरा वितरण गरेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया