रास्वपाका सांसदहरूले संसदभित्र देखाउने चटक, आफ्नै सरकारको विरोध गर्ने शैली र बाहिर प्रस्तुत गर्ने राजनीतिक नौटंकी अब धेरै भयो। कतै यो सबै वास्तविक असन्तुष्टि नभएर देखावटी र बनावटी राजनीति त होइन ? यदि हो भने यस्तो राजनीतिक शैलीले पार्टीलाई कहाँ पुर्याउँछ, एकपटक गम्भीर भएर सोच्नुस्।
सभापतिज्यू, जेनजी आन्दोलन भएको भदौ २३ र २४ गतेका ती दिन सम्झिनुस्। त्यसपछिका घटनाक्रम र देशले भोगेका पीडादायी क्षणहरू हृदयमा राखेर सोच्नुस्। जनताले किन परिवर्तन खोजेका थिए ? युवाहरू किन सडकमा उत्रिएका थिएरु उनीहरूको त्याग, आक्रोश र अपेक्षालाई सम्झिनुस्।
तपाईंसँग मेरो सम्पर्क र चिनजान आजको मात्र होइन, अमेरिकादेखिकै हो। त्यसैले तपाईंप्रति मेरो अपेक्षा पनि सामान्य छैन। तर तपाईंको पछिल्लो राजनीतिक व्यवहार र पार्टी सञ्चालनको शैलीमा देखिएको दोहोरो चरित्रले चिन्तित बनाएको छ। यस्तो दोहोरो विचार र व्यवहार तपाईंका लागि मात्र होइन, तपाईंको पार्टी र सरकारकै लागि घातक हुन सक्छ।
सरकार सञ्चालन गर्ने जिम्मेवारी प्रधानमन्त्रीको हो, पार्टी सञ्चालन गर्ने जिम्मेवारी सभापतिको हो। यी दुई जिम्मेवारीबीच स्पष्ट सीमा र आपसी समझदारी हुनुपर्छ। प्रधानमन्त्रीलाई स्वतन्त्र रूपमा काम गर्न दिनुस्। सांसदहरूलाई पनि जनताले दिएको जिम्मेवारी सम्झाउनुस्। संसद् चटक देखाउने ठाउँ होइन, जनताको आवाज उठाउने ठाउँ हो।अरू पार्टीबाट पनि सिक्नुस्। परिवारको जिम्मेवारी पूरा गर्नुपर्छ, तर परिवारकै सदस्यले गलत बाटो समाते भने गलत कामको समर्थन गरेर परिवार जोगिँदैन। आवश्यक पर्दा गलत प्रवृत्तिबाट दूरी बनाउन पनि सक्नुपर्छ। पार्टीभित्रका अपरिपक्व, हचुवा र मनलाग्दी शैलीका गतिविधिलाई समयमै नियन्त्रण गर्नुस्। नत्र पार्टी ठूलो त होला, तर स्थिर र विश्वासिलो हुन सक्दैन।हिजो माओवादीहरू पनि संसार बदल्ने नारा लगाउँथे। तर समय बित्दै जाँदा संसार बदल्ने कुरा गर्नेहरू आफैँ बदलिएको इतिहास हामीले देख्यौँ। अरूलाई परिवर्तन गर्छु भन्नेहरू आफैँ पुरानै विकृति र सत्ताको मोहमा फसे भने उनीहरूले कुन संसार बदल्ने ?
सभापतिज्यू, इतिहास दोहोर्याउने होइन, इतिहासबाट पाठ सिक्ने हो। जनताले तपाईंहरूलाई पुरानै राजनीतिक संस्कारको निरन्तरता दिन होइन, नयाँ राजनीतिक संस्कार स्थापित गर्न अवसर दिएका हुन्।पार्टी ठूलो हुनु मात्र उपलब्धि होइन, पार्टीभित्र अनुशासन, सरकारमा स्थिरता र जनतामा विश्वास हुनु वास्तविक उपलब्धि हो।
अहिले पनि समय छ। पार्टीलाई चटक, गुटबन्दी र दोहोरो चरित्रबाट बाहिर निकाल्नुस्। जनताले दिएको पाँच वर्षको जिम्मेवारी पूरा गर्नुस्। परिवर्तनको नाममा फेरि पुरानै राजनीतिक रोग नदोहोर्याउनुस्।