नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीद्वारा राष्ट्रिय भेला उद्घाटन

राम्रो अनलाइन     ०२ मंसिर २०८३, बुधबार
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीद्वारा राष्ट्रिय भेला उद्घाटन

काठमाडौं–नेकपा (एमाले) को राष्ट्रिय भेला २०८३ मङ्सिर २ गते कार्की बैंक्वेट काठमाडौंमा भव्य समारोहबीच अध्यक्ष कमरेड केपी शर्मा ओलीबाट समुद्घाटन भएको छ । अध्यक्ष ओलीले बिरुवामा जल सिञ्चन गरी भेलाको औपचारिक उद्घाटन गरे ।

राष्ट्रिय भेलालाई उद्घाटन  सम्बोधन गर्दै अध्यक्ष ओलीले भने- 'यो भेलाको मूल सन्देश एकताको हो । हामी बिजयको आत्मविश्वास लिएर जाँदै छौं । अब स्थानीय, प्रदेश, राष्ट्रिय सभाको चुनाव आउँदै छ । यी निर्वाचनहरुमा हामी सशक्त संगठन लिएर जाँदै छौं ।'

सहभागी अगुवा नेता तथा कार्यकर्ताहरुलाई चुनावमा आत्मविश्वासका साथ अघि बढ्न निर्देश गर्दै अध्यक्षा ओलीले  आगामी दिनमा कसैलाई आराम गर्ने छुट नभएको बताए । अध्यक्षले भने- 'हाम्रो आरामको जिन्दगी होइन । चुनावको परिणामलाई भव्य सफलतामा पुर्‍याउनु पर्छ । त्यसका लागि एकताको सन्देशलाई सङ्कल्पको रुपमा लिनु पर्छ ।'

सरकार स्वेच्छाचारी फासीवादतर्फ अघि बढेकाले त्यसको प्रतिरोध गर्न एमाले तयार रहेको उनले बताए ।  मुलुक पछिल्लो समय आर्थिक, सामाजिक, साँस्कृतिक मूल्यमान्यताका हिसाबले खस्किरहेको औंल्याउँदै समाज अत्यन्तै उल्टो बाटोबाट अघि बढेको उनले बताए।

'प्रतिनिधि सभाको विघटन सम्बन्धी सम्मानित अदालतबाट आफू अनुकुल फैसला भइरहेको देखेकै हो । हामीले स्वीकार्दै आएका हौं । अहिले सम्मानित प्रतिनिधि सभाको मुद्दा अदालतमा छ । कुनै फैसला गर्दैन',  भेलामा अध्यक्षले भने ।

उद्घाटन समरोह लगत्तै सुरु भएको बन्द सत्रमा महासचिव शंकर पोखरेलले 'पार्टीको शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारी' सम्बन्धी कार्यपत्र पेश गरे। महासचिव पोखरेलले कार्यपत्र पेश गर्दै पार्टीको सङ्गठनात्मक जीवनका प्रमुख १४ बुँदामा समस्या औंल्याउँदै कसरी समाधान गर्नुपर्छ भन्ने धारणा राखे  । 

'पार्टीलाई बलियो, व्यवस्थित र जनमुखी शक्तिका रुपमा प्रस्तुत गर्दै पार्टीका उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित सिंगो पार्टीपङ्क्ति स्थानीय निर्वाचनको तयारीको काममा केन्द्रित हुनु आवश्यक छ', महासचिव पोखरेलले भने-  'पार्टीले यसअघि नै निर्वाचनको तयारीको कामलाई समेत दृष्टिगत गरी हरेक पालिका तहमा पार्टी जागरण अभियनको संयोजन गर्नेगरी केन्द्रीय प्रतिनिधि खटाइएको छ ।'

त्यसैगरी बन्दसत्रमा उपाध्यक्ष विष्णु पौडेलले 'एमालेले देश र जनताको पक्षमा गरेका महत्वपूर्ण कार्यहरू' विषयक कार्यपत्र पेश गरे । उनले एमाले विभिन्न समयमा सरकारको नेतृत्व र सहभागी हुँदा देशको विकास र जनताका पक्षमा गरेका कामहरुलाई प्रष्ट्याए।

उपाध्यक्ष पौडेलले पार्टी सरकारको नेतृत्वमा रहँदा वा सरकारमा सहभागी हुँदा आर्थिक-सामाजिक रूपान्तरणका लागि पहलकदमी लिएका कारण  भौतिक पूर्वाधार, आर्थिक बृद्धि र मानवीय विकासका क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताए। उनले भने- 'संविधानमा अन्तर्निहित नागरिकका मौलिक हक र नागरिकप्रति राज्यको दायित्वबाट निर्देशित भएर समाजवादउन्मुख सामाजिक-आर्थिक विकासको पक्षमा नीति अवलम्बन गरिएको छ ।'  

त्यसैगरी स्वागत मन्तव्यमा सचिव पद्मा अर्यालले आउने स्थानीय तहको निर्वाचन पार्टीका लागि राजनीतिक परीक्षा हुने बताइन् । 'आउने स्थानीय तहको निर्वाचनको परीक्षा हामीले जित्नै पर्छ । गत निर्वाचनको क्षतिपूर्ति हामीले आउने निर्वाचनबाट लिनु पर्दछ । हामी जनतासँग बसेर उनीहरुका गुनासा सुन्ने र समाधानका लागि पहल गर्नुपर्छ', उनले भिनन् ।

'निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य' मूल नारासहित कार्की ब्याङ्क्वेट काठमाडौं सुरु भएको राष्ट्रिय भेला उद्घाटन समारोहको सञ्चालन सचिव भानुभक्त ढकालले गरेका थिए ।

अध्यक्ष ओलीको अध्यक्षतामा सुरु भएको उद्घाटन समारोह तथा बन्दसत्रमा पार्टीकी वरिष्ठ नेता तथा सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, उपाध्यक्षहरु रामबहादुर थापा 'बादल', विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु लेखराज भट्ट, योगेश भट्टराई, रघुवीर महासेठ, सचिवहरु छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, शेरधन राई, डा. राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेत उपस्थित  थिए  ।

त्यसैगरी स्थायी कमिटी सदस्यहरु प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापाले मञ्चमा आसनग्रहण गरेका थिए ।

त्यसैगरी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष प्रा.डा. भरतराज पहारी, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प राज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा अतिथिका रुपमा सहभागी थिए। त्यसैगरी सम्मानित ज्येष्ठ कम्युनिष्ट व्यक्तित्वहरु मोहनचन्द्र अधिकारी, विजयलाल श्रेष्ठ, हरिचरण शिवाकोटी, वाचस्पति देवकोटा, विशेश्वरा दहाल, शान्ता मानवी, गोमा देवकोटा, माया ज्ञवाली, गोविन्द कलौनी, प्रेमप्रकाश ओली,  बद्री ओली, लक्ष्मीदत्त जोशी र जीवन राई अतिथिका रुपमा सहभागी थिए।

उद्घाटन कार्यक्रममा राष्ट्रिय गान, अन्तर्राष्ट्रिय गीत र एक मिनेट मौनधारणसहित सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । भेलामा अर्केस्ट्रा तथा साँस्कृतिक समूहको प्रस्तुति रहेको थियो ।

भेला मङ्सिर २-३ गते दुई दिनसम्म चल्ने छ ।  काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा देशभरबाट ३४ सय १४ प्रतिनिधिहरु सहभागी रहेका छन् । भेलामा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष, जनसंगठन, केन्द्रीय निकाय, संघीय र प्रदेशका सांसदहरु, स्थानीय तहका प्रमुख र उपप्रमुखहरु सहभागी रहेका छन् । 

भोलि मङ्सिर ३ गते अध्यक्ष केपी शर्मा ओलीले 'आजका २ कार्यभार र गर्नुपर्ने १५ काम'का सम्बन्धमा,  वरिष्ठ नेता विद्यादेवी भण्डारीले 'पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने सङ्कल्प गरौं' विषयमा र उपाध्यक्ष रामबहादुर थापा 'बादल'ले 'राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि सङ्कल्प गरौं' विषयमा सम्बोधन गर्नुहुनेछ । कार्यक्रम मङ्सिर ३ गते बिहान ८ बजेदेखि सुरु हुनेछ ।

 

प्रतिक्रिया