रेसुङ्गा विमानस्थलको नियमित उडान सुरु

राम्रो अनलाइन     ०९ कात्तिक २०८१, शुक्रबार
रेसुङ्गा विमानस्थलको नियमित उडान सुरु

 

गुल्मी –  गुल्मीको रेसुङगा विमानस्थलबाट एक महिनापछि नियमित उडान सुरु भएको छ । मौसम खरावका कारण विगत एक महिनादेखि नियमित उडान हुन नसकेको विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए। हप्ताको दुई दिन बुधबार र शुक्रबार उडान हुने कार्यतालिका रहेपनि विगत एक महिनादेखी नियमित उडान हुन नसकेका थापाले बताए । कात्तिक महिनाको सात गते बुधबार र ९ गते शुक्रबार नियमित उडान भएकाले मौसम सफा भएमा नियमित हप्ताको दुइ दिन उडान हुने उनको भनाइ छ ।

असोज महिनामा चार गते र २५ गतेमात्रै उडान भएको थियो । मौसम सफा नभएका कारण उडान भर्न नसकिएको थापाले बताए । क्रमिक रुपमा मौसम सफा हुँदै गएकाले नियमित उडान हुने भन्दै यात्रुहरुलाई निरास नहुन उनले आग्रहसमेत गरेका थिए ।  गत असार १४ गतेदेखि करिव दुई महिना रेसुङगा विमानस्थलबाट उडान ठप्प भएपनि भदौ ७ गतेबाट उडान नियमित भएको थियो । पहिले हप्ताको एक दिन शुक्रबार मात्रै उडान भर्दै आएको जहाजले यात्रुको अत्याधिक चाप बढेपछि साप्ताहिक तीन उडानको अनुमति पाएको थियो । वर्षायाम सुरु भएपछि पछिल्लो समय हप्ताको एक दिन शुक्रबार मात्रै उडान गर्ने गरी कार्यतालिका रहेको थापाले बताए । पछिल्लो समयमा यात्रुहरुको चापलाई मध्यनजर गर्दै हप्ताको शुकबार र बुधबार दुई दिन उडान गर्ने कार्यतालिका रहेको थापाले बताए । 

काठमाडौँबाट बिहान ६ बजेर ३० मिनेट र रेसुङगाबाट काठमाडौँका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने कार्यतालिका रहेको उनले बताए । हवाई यात्रामा गुल्मी जोडिएसङगै फ्रान्स र स्पेनबाट पनि पर्यटकहरु घुम्नको लागि गुल्मी आएको रेसुङगा नगरपालिका गुल्मीले जनाएको छ। हाल गुल्मीबाट काठमाडौँका लागि सात हजार तीन सय र काठमाडौँबाट गुल्मीका लागि सात हजार पाँच सय रुपियाँ भाडा कायम गरेको स्टेशन प्रमुख थापाले बताए ।  जिल्ला सदरमुकाम तम्घासबाट करिव पाँच मिलोमिटर कच्चीबाटो पछि विमानस्थल पुग्न सकिन्छ । विमानस्थलबाट गतवर्षको वैशाख २९ गतेबाट व्यवसायिक उडान सुरु गरिएको थियो ।

प्रतिक्रिया