राष्ट्रपति भण्डारीबाट भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथी दर्जा प्रदान

राम्रो अनलाइन     २० भदौ २०७९, सोमबार
राष्ट्रपति भण्डारीबाट भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथी दर्जा प्रदान


काठमाडौँ–नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी छिन् ।
 
प्रधानमन्त्री शेरबहादुर देउवासहति नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष अलङ्करण समारोहमा राष्ट्रपति भण्डारीले उनलाई मानार्थ महारथी दर्जाका साथै खड्ग प्रदान गरिन् । 

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणका लागि सेनाध्यक्ष पाण्डे आइतबार नेपाल आएका हुन् । 

नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । विसं २००७ मा भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो ।

विसं २०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेना प्रमुखको सम्मान प्राप्त गरेका थिए । सोही प्रचलनको निरन्तरता स्वरुप राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई आज मानार्थ महारथी दर्जा प्रदान गरेकी हुन् । 

अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाउनुभएको थियो भने सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ सेनापतिले उक्त सम्मान प्राप्त गरिसकेका छन् ।

दुई मुलुकका सेनाबीचको दशकौंदेखिको उक्त अनुपम अभ्यासले नेपाली सेना र भारतीय सेनाबीच आपसी सम्बन्ध मात्र नभई दुवै मुलुकको मित्रता र सहयोगको ऐतिहासिक सम्बन्धलाई थप बलियो बनाउन टेवा पुग्ने विश्वास गरिएको छ । 

नेपाल र भारत घनिष्ठ एवं शान्तिपूर्ण मुलुक हो । यी मुलुकबीच सदियौंदेखि सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, सांस्कृतिक सामिप्यता तथा सेनाबीच प्रगाढ सम्बन्ध रही आएको छ । 

द्विपक्षीय सेनाबीच शान्तिपूर्ण सहअस्तित्व, सम्मान र सहयोगभाव पहिलेदेखि नै चलीआएको इतिहास छ । तिनै परम्परा र इतिहासले नेपाली सेना र भारतीय सेनाबीच गहिरो सम्बन्ध कायम छ । 

नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेना प्रमुख नेपाली सेनाको मानार्थ महारथी हुने परम्परा एसियाको अनुकरणीय उदाहरण भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपाली सेना र भारतीय सेनाले एक अर्को मुलुकमा आइपर्ने प्राकृतिक प्रकोपमा निरन्तर सहयोग पु¥याउँदै आएको छ । नेपाली सेना र भारतीय सेना बीच सञ्चालन हुने ‘एक्स सूर्य किरण’ सैन्य अभ्यासले दुवै देशको सेनाबीच अझै सम्बन्ध मजवुद पारेको छ । 
 
मानार्थ महारथी दर्जा प्राप्त गर्नु अघि जलनरल पाण्डेले आज सैनिक मुख्यालय जङ्गी अड्डामा वृक्षारोपण गर्नुका साथै नेपाली सेनालाई विभिन्न सैन्य सामग्री हस्तान्तरण गरेका थिए । सो क्रममा नेपाली सेनाले उहाँलाई सम्मान गारत अर्पण गरेको थियो । उनले आजै प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता पनि गरेका थिए । 

पाँच दिने भ्रमणका क्रममा पाण्डेले मङ्गलबार बिहान माउन्टेन फ्लाइट गर्नुका साथै शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ । 

यस्तै अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उनले शिष्टाचार भेट गरे भने साँझ हिन्दुहरूका आराध्यदेव पशुपतिनाथको दर्शन गरेका थिए ।
 
बुधबार मुक्तिनाथको दर्शन, पोखरास्थित मध्य कमाण्ड हेटक्वाटरको निरीक्षण तथा वसन्तपुरस्थित दरबार स्क्वायरको भ्रमण गर्नेछन् । बिहीबार भने नेपालस्थित भारतीय राजदूतावासको भ्रमण गरी उनी स्वदेश फर्किने छन् ।

सेनाध्यक्ष पाण्डेको योगदान

राष्ट्रपति भण्डारीबाट नेपाली सेनाको मानार्थ महारर्थी दर्जा प्राप्त गर्नुभएका भारतीय सेनाध्यक्ष जनरल पाण्डे भारतको परम विशिष्ट सेवा मेडल, अति विशिष्ट सेवा मेडल, विशिष्ट सेवा मेडलजस्ता उच्च मानपदवी, विभूषण तथा पदकबाट विभूषित छन् । 

एड–डि क्याम्प तथा प्रतिष्ठित नेशनल डिफेन्स एकाडेमीबाट दीक्षित पाण्डे सन् १९८२ मा  भारतीय सेनाको कोर अफ इन्जिनियर्समा कमिशन भएका थिए । 

संयुक्त अधिराज्यको क्याम्बर्लीस्थित स्टाफ कलेजबाट दीक्षित पाण्डे हाइ कमाण्ड र नेशनल डिफेन्स कलेज कोर्ससमेत गरेका छन् । भारतीय सेनाप्रतिको निस्वार्थ सेवा, इमान्दारिता, लगनशिलता, सैनिक पेशाप्रतिको समर्पणका कारण जनरल पाण्डे आफूलाई सैनिक कला र व्यावसायिकतामा अब्बल सावित गर्दै सन् २०२२ अप्रिल ३० मा भारतीय सेनाको सेनाध्यक्षमा नियुक्त भएका थिए । 

करिव चार दशक लामो भारतीय सैनिक सेवामा कार्यरत उनले उल्लेखनीय कमाण्ड तथा स्टाफ भूमिकाहरूमा कार्यसम्पादन गरेका छन् । महत्वपूर्ण र चुनौतीपूर्ण कमाण्डमा कार्यरत रहने क्रममा उहाँले इन्जिनियर ब्रिगेड, इन्फेन्ट्री ब्रिगेड, माउन्टेन डिभिजन र कोरको सफलतापूर्वक  कमाण्ड गरेका छन् । 

उनले  अन्डामन र निकोबर कमाण्डमा  कमाण्डर इन चिफ र पूर्वी कमाण्डको जनरल अफिसर कमान्डिङ इन चिफको जिम्मेवारीसमेत सफलतापूर्वक  सम्पन्न गरेका छन् । 

उनले भारतीय सेनाको पूर्वी–कमाण्डमा रहँदा चुनौतीपूर्ण प्रतिविद्रोह कारवाहीमा समेत प्रशंसनीय भूमिका निर्वाह गरेका छन् । 

भारतीय सेनाको महत्वपूर्ण स्टाफ भूमिकामा रहेर जिम्मेवारी पूरा गर्ने क्रममा जनरल पाण्डेले भाइस चिफ अफ आर्मी स्टाफ, मिलिटरी अपरेशनमा  एडिसनल डाइरेक्टर जनरल, दक्षिण कमाण्ड हेडक्वाटरमा चिफ अफ स्टाफ, डिसिप्लिन, सेरेमोनियल तथा वेलफेयर डाइरेक्टोरेटमा डाइरेक्टर जनरलको नियुक्तिमा विशेष योगदान पुर्‍र्याएका छन् । 

उनले शान्ति स्थापनार्थ इथियोपिया र इरिट्रियास्थित संयुक्त राष्ट्रसङ्घीय मिसनमा चिफ इन्जिनियरको रुपमा कार्य गरी विश्व शान्तिमा विशिष्ट योगदान पुर्‍याएका छन् । 
 

प्रतिक्रिया