काठमाडौँ–बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोहका विशिष्ट वक्ताहरुले जलवायु सङ्कट समाधानमा विश्वव्यापी सहकार्यमा जोड दिएका छन्। आजदेखि सुरु भएको समारोहमा उनीहरुले जलवायु परिवर्तनका असरबाट जुध्न एक्लाएक्लै प्रयासले मात्रै सफलता हासिल नहुने उल्लेख गरे।
समारोहमा भारतको वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवले पर्वतीय मुलुक र ती मुलुकका बासिन्दाहरुलाई भविष्यमा जटिल वातावरणीय रूपमा समस्या उत्पन्न हुनसक्ने भन्दै पर्वतीय मुलुकहरु एकै ठाउँमा उभिएर जलवायुजन्य सङ्कट समस्याका लागि संयुक्त कार्य गर्नुपर्नेमा जोड दिए।
“हरितगृह ग्यास उत्सर्जनमा कटौती गर्ने सन्दर्भमा, समानता र साझा तर फरकफरक जिम्मेवारीको सिद्धान्तमा आधारित भएर र एकअर्काप्रति सम्मानका साथ जलवायु कार्य गर्नुपर्छ”, उनले भने, “बढी कार्बन उत्सर्जन गर्ने मुलुकहरुले जलवायु वित्त, प्रविधि स्थानान्तरण र क्षमता विकासप्रति तिनीहरूको प्रतिबद्धता गम्भीर रूपमा बेवास्ता गरिएको छ, जसले गर्दा जलवायु सङ्कट अझ चर्किएको छ, यो सङ्कटका लागि उनीहरूको जिम्मेवारी तुलनात्मक रूपमा बढी हुनुपर्छ ।”
यो हाम्रो ज्ञान, वैज्ञानिक विशेषज्ञता, र अनुभवहरू साटासाट गर्ने, साझेदारीको नयाँ प्रवाहहरू निर्माण गर्ने र यी महत्वपूर्ण पारिस्थितिकी प्रणालीहरू यसमा समुदायहरूको सुरक्षा गर्ने अवसर संवादले दिएको उनको भनाइ छ । यादवले पेरिस सम्झौताअन्तर्गत हाम्रो राष्ट्रिय रूपमा निर्धारित योगदान र राष्ट्रिय जलवायु कार्ययोजना हाम्रो दृढ सङ्कल्पका प्रमाण रहेको बताए।