काठमाडौँ–परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा उहाँले न्युयोर्कमा रहेको महावाणिज्य दूतावासको अवलोकन गरेको उनको सचिवालयले जनाएको छ । त्यसक्रममा मन्त्री खनाल महावाणिज्यदूत दधिराम भण्डारीद्वारा आयोजित ‘ब्रिफिङ’ कार्यक्रममा सहभागी भएका थिए।
कार्यक्रममा महावाणिज्य दूतावासबाट सम्पादन भइरहेका कार्य, सेवा प्रवाह तथा नेपाली समुदायसँग सम्बन्धित विषयमा जानकारी प्रस्तुत गरिएको थियो । सो अवसरमा मन्त्री खनालले विदेशस्थित नेपाली नियोगहरूले नेपालको राष्ट्रिय हित प्रवर्द्धन, नेपाली नागरिकलाई आवश्यक कन्सुलर सेवा तथा नेपालसँगको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध विस्तारमा निर्वाह गर्दै आएको भूमिकाका बारेमा जानकारी लिएका थिए।
कार्यक्रममा सहभागी अधिकारीहरूले महावाणिज्य दूतावासका गतिविधि, आगामी कार्ययोजना तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा समेत जानकारी गराएका थिए । मन्त्री खनालले नेपाली नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन तथा नेपालको हित प्रवर्द्धनमा निरन्तर सक्रिय रहन आवश्यक समन्वय र सहकार्यमा जोड दिएका थिए।