प्रहरीको लाठी प्रहारबाट मधेश प्रदेशका शिक्षामन्त्री र ३ सांसद घाइते

राम्रो अनलाइन     ०८ माघ २०८०, सोमबार
प्रहरीको लाठी प्रहारबाट मधेश प्रदेशका शिक्षामन्त्री र ३ सांसद घाइते

सप्तरी– सप्तरीमा जनमत पार्टी र प्रहरीबीच सामान्य झडप भएको छ । मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।

 झडपमा मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएको  छन् ।

मधेश प्रदेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमको विरोध गर्न पुगेका यादवमाथि प्रहरीले लाठी प्रहार गर्दा उनको टाउकोमा चोट लागेको हो । विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रमुख अतिथि उपेन्द्र यादव बनाएपछि उनी विरोधमा उत्रिएका हुन्  । 

शिक्षामन्त्री समेतलाई वेवास्ता गर्दै राखिएको शिलान्यास कार्यक्रमको जनमत पार्टीले विरोध गर्दै आएको छ । त्यस्तै उनीहरुले आफूहरुको पार्टी अध्यक्ष सिके राउतलाई उक्त कार्यक्रममा प्रमुख अतिथि बनाइनुपर्ने माग राख्दै विश्वविद्यालयमा तालाबन्दी समेत गरेका थिए । 

शिक्षा मन्त्री यादवले कार्यक्रम रद्द गर्न वक्तव्य जारी गरेका थिए भने जनमत अध्यक्ष डा सिके राउतले कार्यक्रम रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेका थिए । यद्यपि सोमबार विश्वविद्यालयको भवन शिलान्यास भएको छ ।

प्रतिक्रिया