प्रदेश सरकारले खरिद गरेको बस सञ्चालन नहुने 

राम्रो अनलाइन     २५ फागुन २०७८, बुधबार
प्रदेश सरकारले खरिद गरेको बस सञ्चालन नहुने 

 

जनकपुरधाम– सार्वजनिक यातायातका लागि मधेश प्रदेश सरकारले खरिद गरेको बस सञ्चालन नहुने भएको छ । खरिद भएको बस प्रदेश सरकारले आफू अन्तर्गतका निकायलाई दिने निर्णय गरेको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले यात्रुलाई चढाउन खरीद गरिएको बस आफ्ना निकायलाई दिने निर्णय भएको प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

उनका अनुसार खरीद गरिएका ५ बसमध्ये २ वटा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तथा १÷१ वटाका दरले कृषि विश्वविद्यालय राजविराज, कृषि तालिम केन्द्र धनुषा र प्रदेश प्रशिक्षण केन्द्रलाई दिइनेछ ।

डेढ बर्षअघि प्रदेश सरकारले यो बस खरीद गरेको थियो । दुई वटा बस जनकपुरधाम–राजविराज, दुई वटा जनकपुधराम–बीरगंज र एउटा बस राजविराज–बीरगंच संचालन गर्ने प्रदेश सरकारले जनाएको थियो ।

बस खरीद गर्ने तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल मन्त्री पदबाट हटाइएपछि अहिले यो मन्त्रालय कांग्रेसको नेतृत्वमा आएको छ । कांग्रेसबाट मन्त्री रहेका रामसरोज यादवले शुरुदेखि नै बस संचालन गर्न अनिच्छा प्रकट गर्दै आएका थिए ।

सप्तरीमा यातायात कार्यालय खोलिने

मंगलबारको प्रदेश मन्त्रीपरिषद्को बैठकले सप्तरीमा यातायात व्यवस्था कार्यालय खोल्ने निर्णय गरेको छ । सप्तरी सदरमुकाम राजविराजमा यातायात व्यवस्था कार्यालय स्थापना गरिने सरकारका प्रवक्ता साहले बताए । उनका अनुसार सिरहाको लहानमा रहेको यातायाता व्यवस्था कार्यालयको सेवालाई विस्तार गर्दै राजविराजमा खोलिने निर्णय भएको हो ।

शुरुमा राजविराजमै रहेको यातायात व्यवस्था कार्यालय दुई दशकअघि लहानमा सारिएको थियो । त्यस बेलादेखि सप्तरीबासीलाई यातायात सम्बन्धी कामका लागि लहान धाउनुपरिरहेको थियो । प्रबक्ता साहका अनुसार कार्यालय सम्बन्धी प्रकृया चाँडै पूरा गरेर कार्यालय स्थापना हुनेछ ।

प्रतिक्रिया