फिल्म जगत् छोडेर फरक क्षेत्रमा करिअर

एजेन्सी     ०८ फागुन २०७७, शनिबार
फिल्म जगत् छोडेर फरक क्षेत्रमा करिअर

बलिउडका केही कलाकार यस्ता छन्, जसले फिल्म जगत् त्यागेर अन्य क्षेत्रमा करिअर बनाएका छन्।



डिनो मोरिया
डिनो मोरियाले मोडलिङबाट करिअरको सुरुवात गरेका थिए । त्यसपछि उनको करिअर बलिउडतिर मोडियो । ‘प्यार में कभी कभी’ बाट उनले फिल्म यात्रा थालेका थिए । थ्रिलर फिल्म ‘राज’ बाट उनी प्रसिद्ध भए । तर, त्यसपछिका उनको फिल्मले सफलताको स्वाद खासै चाखेनन् । फिल्म असफल हुन थालेपछि उनी हस्पिटालिटी बिजनेसतिर लागे । अहिले मुम्बईमा उनका थुप्रै रेस्टुरेन्ट छन् ।


प्रीति जिन्टा
अभिनेत्री प्रीति जिन्टा फिल्म ‘दिल से’ मा पहिलो पटक फिल्मी पर्दामा देखिएकी थिइन् । फिल्ममा उनले अभिनेता शाहरूख खान र अभिनेत्री मनीषा कोइरालासँग काम गरेकी थिइन् । सफलताको भ¥याङ चढ्दै उनी बलिउडका टप अभिनेत्रीको सूचीमा सामेल भइन् । ‘दिल चाहता है’, ‘वीर जारा’, ‘कल हो न हो’ लगायत उनका हिट फिल्म हुन् । फिल्म सँगसँगै उनले खेल क्षेत्रमा पनि हात हालिन् । इन्डियन प्रिमियर लिग (आईपीएल) को किंग्स इलेभन पञ्जाब टिममा लगानी गरिन् । आजभोलि उनी फिल्मभन्दा क्रिकेटमा बढी रमाइरहेकी छिन् ।


ट्वींकल खन्ना
अभिनेत्री ट्वींकल खन्नाले सन् १९९५ मा फिल्म ‘बरसात’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । फिल्ममा उनले अभिनेता बबी देओलसँग काम गरेकी थिइन् । त्यसपछि ‘बादशाह’, ‘लभ के लिए कुछ भी करेगा’, ‘ये है मुम्बई मेरी जान’ लगायत फिल्ममा काम गरिन् । बलिउडमा करिअर सुरु गरेको छ वर्षमै उनी इन्डस्ट्रीबाट बिदा भइन् । 

ट्वींकलको लेखनमा रुचि छ । उनका ‘मिसेस फनीबोन्स’, ‘द लिजेन्ड अफ लक्ष्मीप्रसाद’ लगायत किताब प्रकाशित छन् । पत्रपत्रिकामा स्तम्भकार छिन् । इन्टेरियर डिजाइनिङमा दख्खल भएकी उनी एक लाइफ स्टाइल वेबसाइटकी सञ्चालक पनि हुन् । 

प्रतिक्रिया