काठमाडौं – पश्चिमा देशहरूले आप्रवासीहरूमाथि कडा निगरानी र नियन्त्रण गरिरहेका बेला स्पेनले करिब पाँच लाख अवैध (कागजपत्र विहीन) आप्रवासीहरूलाई कानुनी वैधता प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
डेनमार्क, जर्मनी, अस्ट्रिया र संयुक्त राज्य अमेरिकालगायत देशले आप्रवासन नीतिमा कडाइ गरिरहेका बेला स्पेनको यो कदमलाई मानवीय र व्यावहारिक दुवै मानिएको छ ।
यो कदमलाई स्पेनको हालैका दशककै सबैभन्दा ठूलो आप्रवासन सुधारका रूपमा हेरिएको छ । 'हाम्रो देशका लागि यो एक ऐतिहासिक दिन हो,' स्पेनकी समावेशीकरण, सामाजिक सुरक्षा तथा आप्रवासन मन्त्री एल्मा साइजले भनिन् । उनका अनुसार यो निर्णयले मानव अधिकार, सामाजिक एकता र आर्थिक वृद्धिलाई सँगसँगै लैजानेछ ।
यो योजनाअन्तर्गत कानुनी मान्यता पाउनका लागि विदेशी नागरिकले दुईवटा मुख्य सर्त पूरा गर्नुपर्ने बताइएको छ । पहिलो कुनै पनि आपराधिक रेकर्ड नभएको हुनुपर्ने र अर्को ३१ डिसेम्बर २०२५ भन्दा कम्तीमा पाँच महिना अघिदेखि स्पेनमा बसोबास गरेको प्रमाण पेस गर्नुपर्ने रहेको छ ।
यस प्रक्रियामार्फत लाभान्वित हुनेहरूले सुरुमा एक वर्षको ‘रेसिडेन्स पर्मिट’ (बसोबास अनुमति) पाउनेछन्, जसलाई पछि नवीकरण गर्न सकिने बताइएको छ । यसका लागि आवेदन प्रक्रिया आगामी अप्रिलदेखि सुरु भई जुनको अन्त्यसम्म खुला रहनेछ ।
कन्जरभेटिभ थिंक ट्यांक ‘फन्कास’का अनुसार स्पेनमा अवैध आप्रवासीको संख्या सन् २०१७ मा एक लाख सात हजार रहेकोमा सन् २०२५ सम्म आइपुग्दा आठ गुणाले बढेर ८ लाख ३७ हजार पुगेको छ ।
विशेष गरी कोलम्बिया, पेरु र होन्डुरसबाट आउनेहरूको संख्या ठूलो छ । युरोपका अन्य ठूला राष्ट्रहरूले आप्रवासीमाथि कडाइ गरिरहेका बेला प्रधानमन्त्री पेड्रो सान्चेजको नेतृत्वमा रहेको सरकारले भने उनीहरूलाई स्पेनको धन, विकास र समृद्धिको संवाहक मानेको छ ।
स्पेनको अर्थतन्त्र हालैका वर्षहरूमा अन्य युरोपेली मुलुकको तुलनामा राम्रो छ । सन् २००८ पछि पहिलोपटक बेरोजगारी दर १० प्रतिशत भन्दा तल झरेको छ ।
यो व्यवस्था ‘शाही आदेश’मार्फत लागु गरिने र यसका लागि संसद्को अनुमोदन आवश्यक नपर्ने बताइएको छ । यसअघि सात लाख जनताले हस्ताक्षर गरेको नागरिक प्रस्ताव सदनमा विचाराधीन रहेकै अवस्थामा सरकारले यो बाटो रोजेको हो ।
यद्यपि, विपक्षी ‘पिपल्स पार्टी’ र उग्र–दक्षिणपन्थी ‘भक्स’ पार्टीले यसको कडा विरोध गरेका छन् । भक्स पार्टीले यसलाई रोक्न सर्वोच्च अदालतमा पुनरावेदन गर्ने चेतावनी दिएको छ । यो निर्णय स्पेनमा दुई दशकपछिको आप्रवासी वैधानिकता दिने ठूलो प्र्रक्रिया हो ।
स्पेनकी आप्रवासनमन्त्री एल्मा साइजका अनुसार यो योजनाबाट लाभान्वित हुनेहरूले देशको कुनै पनि क्षेत्र र स्थानमा काम गर्न पाउनेछन् । उनले भनिन्, 'हामीले यहाँ रहेका मानिसहरूलाई चिनारी र सम्मान दिइरहेका छौँ, जसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ ।'
प्रधानमन्त्री पेड्रो सान्चेजको नेतृत्वमा रहेको समाजवादी सरकारले स्पेनको घट्दो जन्मदर र वृद्धवृद्धाको बढ्दो संख्याका कारण श्रम बजारमा देखिएको अभाव पूर्ति गर्न आप्रवासीहरू अनिवार्य भएको तर्क गरेको छ ।
सामाजिक सुरक्षा र पेन्सन प्रणालीलाई टिकाउन पनि नयाँ जनशक्तिको आवश्यकता छ । गैरसरकारी संस्था ‘प्लेटफर्म फर अनडकुमेन्टेड इमिग्रेन्ट्स’कि लेतिसिया भान डर भेनेटले यस कदमको प्रशंसा गर्दै भनिन्, 'एट्लान्टिकका दुवैतर्फ आप्रवासी विरोधी लहर फैलिरहेका बेला स्पेनले देखाएको यो बाटोले मानवता र सामान्य चेतना दुवै झल्काउँछ ।'
मोरक्को र पश्चिम अफ्रिकी देशहरूसँगको सुरक्षा सम्झौताका कारण गत वर्ष स्पेनमा हुने अवैध आप्रवासनमा ४० प्रतिशतले कमी आएको छ ।