‘पैसाले सुखको ग्यारेन्टी गर्दैन’ 

राम्रो अनलाइन     २६ कात्तिक २०८०, आइतबार
‘पैसाले सुखको ग्यारेन्टी गर्दैन’ 

पैसा भनेको खर्च गर्नकै लागि हो । तर, फुर्माइस गरेर उडाउनु हुँदैन । आम्दानी हेरेर खर्च गर्नुपर्छ । कसैका लागि १० हजार एक दिनको खाजा खर्च हुन सक्छ भने कसैले यही रकमले महिनाभर घर चलाउनुपर्ने हुन सक्छ । त्यसैले आफ्नो आम्दानीअनुसार खर्च गर्ने योजना बनाउने र त्यही अनुसार गर्न सक्ने हो भने कम आम्दानीमा पनि जीवनलाई व्यवस्थित र सुखी बनाउन सकिन्छ । 

पैसा भनेको सबथोक होइन । पैसाले सुख दिन्छ भन्ने ग्यारेन्टी पनि छैन । तर, पैसाले  धेरै थरी दुःखबाट भने मुक्त दिन्छ । धेरै पैसा भएको दिन मलाई पनि रातभर निन्द्रा लाग्दैन । कहाँ लगानी गर्ने ? कसो गर्ने ? भन्ने चिन्ता हुन्छ । आफूले सञ्चालन गरेका विभिन्न उद्योग तथा व्यवसायमा करिब सात हजार मानिसले काम गर्छन् भनेर सम्झिनेबित्तिकै मेरा धेरै वटा तनाव कम हुन्छन् । यति धेरै मानिसलाई रोजगारी दिएको र उनीहरूका आश्रित परिवारको घर खर्च चलिरहेको छ भन्ने सम्झिएपछि मन हलुका हुन्छ । मैले लगानी गर्न सकेकै कारण यत्तिका मानिसले काम पाएका छन् र उनीहरूले काम गरिदिएकै कारण मैले केही आर्जन गर्न सकेको छु । 

पैसाले संसारको सबैभन्दा महँगो बिछ्यौना किन्न सके पनि निन्द्रा किन्न सकिँदैन । त्यसैले पैसा भनेको आवश्यक चिज हो तर सबथोक भने होइन । पैसा मर्यादित ढंगले कमाउनुपर्छ । ‘मनी ह्याज नो कलर’ भनिन्छ । दिनभर परिश्रम गरेर कमाएको पैसा र कसैले चोरेको वा तस्करी गरेर कमाएको पैसामा अंकित मूल्यले बजारमा एउटै मान्यता पाउँछ । जसरी पनि पैसा कमाउनुपर्छ भन्ने मान्यताबाट मुक्त हुन सक्नुपर्छ । परिश्रम गरेर कमाएको धन नै दिगो हुन्छ । 
 

प्रतिक्रिया