धन आर्जनका लागि लगानीसँगै निरन्तर मेहनत र श्रम गर्नुपर्छ । धैर्य पनि हुनुपर्छ । व्यापार–व्यवसायमा उत्तारचढाव आइरहन्छन् । व्यवसायीमा त्यसलाई संयमतापूर्वक सम्हाल्ने क्षमता हुनुपर्छ । हामी मारवाडीहरू व्यापारमा संलग्न हुने भएकाले अग्रजले गरेका काम हेरेर नै धेरै कुरा सिक्छौँ । तर, नयाँ पुस्ताले परम्परागत ज्ञानसँगै अध्ययन तथा अनुसन्धानपछि मात्रै उद्योग तथा व्यपारमा हात हाल्दा राम्रो हुन्छ । आफूले गर्न खोजेको बिजनेसको छनोट सही हुनुपर्छ ।
मैले मेरो बुवालाई ‘हामीसँग तीन चार पुस्तालाई पुग्ने पैसा छँदै छ, किन अब धेरै कमाउनुपर्यो ?’ भनेर सोधेको थिएँ । त्यतिबेला उहाँले दिएको उत्तर नै आज मेरो व्यवसाय गर्ने प्रेरणा भएको छ । उहाँले भन्नुभएको थियो, ‘व्यवसाय हाम्रो काम हो । पैसा कमाउनु नै काम भएपछि अब पुग्यो भनेर छोड्ने कुरै आउँदैन ।’ उहाँले त्यतिबेला आफूले कमाएको एक रुपैयाँमध्ये एक पैसा व्यक्तिगत खर्चमा र बाँकी समाजसेवा र धर्ममा खर्च गर्नुपर्छ भन्नुभएको थियो ।
पैसा जीविका चलाउन अत्यावश्यक साधन हो । यसको मात्रा बढ्दै गएपछि निन्द्रा कम हुँदै जान्छ, तनाव बढ्दै जान्छ, खानेकुराको मात्रा घट्दै जान्छ । त्यसैले धेरै धन धेरै वटा दुःखका कारण पनि हुन सक्छ । त्यसैले धन धेरै जम्मा पार्ने दौडमा थुप्रिने दुःखबारे पनि ध्यान दिन सक्नुपर्छ ।