निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु सरकारको मुख्य ध्येय हो : प्रधानमन्त्री ओली 

राम्रो अनलाइन     ०४ साउन २०८१, शुक्रबार
निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु सरकारको मुख्य ध्येय हो : प्रधानमन्त्री ओली 


काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा रहेको निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु नै आफू नेतृत्वको सरकारको प्रमुख ध्येय भएको बताएका छन्।

नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग आज भएको छलफलमा प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नका लागि आफ्नो नेतृत्वमा नयाँ सरकार गठन भएको प्रस्ट पारे।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका ओलीले पदका लागि मात्रै आफू पुनः प्रधानमन्त्री जिम्मेवारीमा नआएको बताउँदै भने, ‘म यसअघि नै प्रधानमन्त्री बनिसकेको हो, पदका लागि मात्रै पुनः जिम्मेवारीमा आएको होइन, केही न केही नयाँ काम गरौँ, मुलुकको समस्या समाधानमा योगदान गरौँ भनेर जिम्मेवारी लिएको हो ।’

प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई सुदृढ र चलायमान बनाउनेतर्फ सरकारको विशेष रुचि र ध्यान रहेको बताए । ‘विद्यमान समस्या समाधान तथा अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको प्रमुख ध्येय हो, म प्रधानमन्त्री बन्नका लागि मात्र आएको होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘देशमा रहेका समस्याको समाधान गर्न र परिवर्तनका लागि काम गर्नैपर्छ भन्ने दृढतासहित आएको हुँ, त्यसैले निजी क्षेत्रले यो सरकारप्रति आशा, भरोसा राखेर सँगसँगै मिलेर काम गर्नुपर्छ ।’

नेपाल राष्ट्र बैङ्कले ल्याउन लागेको मौद्रिक नीति कठोर नहुने सङ्केत गर्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुन नहुने स्पष्ट पारे।

प्रधानमन्त्रीसँगको भेटमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई उकास्न उच्च प्राथमिकताका साथ काम गर्न प्रधानमन्त्रीसँग निजी क्षेत्रका तर्फबाट आग्रह गरे।

अध्यक्ष अग्रवालले उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको तथ्यसहित अग्रवालले निजी क्षेत्रको मनोबल बढाउनुपर्नेमा जोड दिए । उनले मौद्रिक नीतिमार्फत शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउन सक्नुपर्ने धारणा पनि अग्रवालले राखे। 

प्रतिक्रिया