काठमाडौं– हाउस अफ फेसन नेपालले ‘मिसेस भोग नेपाल’ को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । प्रतियोगिताकी आयोजक ओसिमा बानुले गर्दै यही चैत २१ गते बुधवार साँझ ६ बजेदेखि वालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा प्रारम्भ हुने प्रतियोगिताको ग्राण्ड फिनालेको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएकी हुन् ।
स्मित तामाङ्गको कोरियोग्राफीमा आयोजना हुने यो प्रतियोगितामा १३ जना विवाहित महिलाहरुले सहभागिता जनाएका छन् । प्रतियोगितामा खरो उत्रनका लागि उनीहरु पछिल्लो केही एक महिनाभन्दा लामो समयदेखि कठोर प्रशिक्षणमा व्यस्त छन् । त्यसक्रममा उनीहरुले र्याम्प वाक, व्यक्तित्व विकाससहितका जीवनोपयोगी विषयमा प्रशिक्षण पाएका छन् । प्रशिक्षणकै क्रममा उनीहरुले चलचित्र अभिनेता सुनिल थापा, अभिनेत्री एलिजा गौतम लगायतका व्यक्तित्वहरुसंग भेटघाट गर्दै उनीहरुका अनुभवहरु सुन्ने अवसर पाइसकेका छन् ।
प्रतियोगितामा सहभागिता जनाउने सबै प्रतिस्पर्धिहरु कामकाजी, जागिरे, उद्यमी आदि क्षेत्रबाट प्रतिनिधित्व गरेका छन् । उनीहरुमध्ये केही प्रतिस्पर्धिहरु एकल महिलासमेत छन् । एक महिनाको प्रशिक्षणपछि सहभागि प्रतिस्पर्धिहरुमा धेरै कुरामा परिवर्तन आएको तथा प्रशिक्षणको क्रममा उनीहरुबाट आफूले पनि धेरै कुरा सिक्ने मौका पाएको बानुको भनाइ छ । बानुका अनुसार यो केवल फेसन शो तथा सौन्दर्य प्रतियोगितामात्र होइन, यो महिला शसक्तिकरणको मुद्दा उठाउने तथा महिलाले आफ्ना कुराहरु राख्न सक्ने एउटा शसक्त प्लेटफर्म समेत हो ।
हाउस अफ फेसन नेपालद्वारा आयोजित यो समारोहमा भव्यता, शैली तथा महिला सशक्तिकरणलाई उत्सवको रुपमा मनाइने तयारी गरिएको छ, जसले नेपालको फेसन परिदृश्यमा अमिट छाप छोड्ने लक्ष्य बनाएको आयोजक बानुको भनाइ छ ।
यसअघि उनीहरु ट्यालेन्ट शोमा समेत सहभागि भएर आफूमा निहित प्रतिभाहरु प्रस्फुटन गरिसकेका छन् ।
‘मिसेस भोग नेपाल’ प्रतियोगितामा नेपाली महिलाहरूको सौन्दर्य र विविधतालाई उजागर गर्दै रचनात्मकता, प्रतिभा तथा महिला सशक्तिकरणको शसक्त माध्यम बनाउने लक्ष्य लिइएको छ ।
प्रतियोगिताको ग्राण्ड फिनालेमा मनमोहक फेसन शोकेस, प्रेरणादायक प्रदर्शन तथा विचार–उत्तेजक अभिव्यक्तिमार्फत समारोहलाई अविस्मरणीय बनाइने आयोजक संस्थाको योजना छ ।
‘मिसेस भोग नेपाल’ प्रतियोगितामा हरेक सहभागिलाई आफ्नो कथा भन्ने तथा दर्शकमाझ शेयर गर्ने अवसर प्रदान गरिँदैछ, जसलाई ‘उनको कथा’ थिम दिइएको छ ।
प्रतियोगितामा कमलपोखरीस्थित जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीद्वारा तयार पारिएका आकर्षक, परम्परागत शैलीद्वारा तयार पारिएका पहिरनहरुलाई प्रतिस्पर्धिहरुले फेसन एक्स्ट्राभ्यागेञ्जाको रुपमा प्रदर्शन गर्दैछन् ।
प्रतियोगिताको ट्यालेन्ट शोकेस सिक्वेन्समा प्रतिस्पर्धिहरुले आफूमा भएको प्रतिभालाई प्रस्तुत गर्नुका साथै महिला शसक्तिकरणलाई उजागर गर्ने शैलीका सन्देशहरु दर्शकलाई दिने छन् ।
प्रतियोगिहरुलाई केही साताअघि सम्पन्न नारी दिवसको अवसरमा समेत केही गतिविधिहरुमा सहभागि गराइएको थियो । उक्त कार्यक्रममा उनीहरुलाई महिला शसक्तिकरणको विषयमा छलफल गराइनुका साथै पिरियड हाइजीन, आत्म निर्भरताका बारेमा कुराकानी गराइएको थियो ।
बुधवार राति सम्पन्न हुने प्रतियोगितामा मिसेस भोग नेपालको विजेताको घोषणा हुनुका साथै कमर्सियल एम्बासडर, फर्स्ट रनर्स अप तथा सेकेण्ड रनर्सअपको घोषणा गरिने छ ।













