मिस नेपाल आश्माकुमारी केसी भन्छिन् : ‘म सेलिब्रेटी नै भइसकेको अनुभव भएको छैन’ 

राम्रो अनलाइन     २० साउन २०८१, आइतबार
मिस नेपाल आश्माकुमारी केसी भन्छिन् : ‘म सेलिब्रेटी नै भइसकेको अनुभव भएको छैन’ 

 

मिस नेपालको फिनाले हुने बिहान आँखा खुल्ने बित्तिकै केही पोजेटिभ हुन्छ भन्ने पहिलो कुरा दिमागमा आएको थियो । दिनभर नै म सकारात्मक थिएँ । आज मेरो जीवनको ठूलो दिन हो भन्ने मनमा लागिरहेको थियो । त्यही भएर आजको लागि म असाध्यै उत्साही थिएँ । आजको मेरो दिन थकानले भरिएको त थियो नै, यहाँ बसिरहँदा त्यो थकान बिर्सिएजस्तो लागेको छ ।

मेरो लागि यो ताज मात्र नभएर उत्तरदायित्व पनि हो । जसरी हाम्रा पूर्वमिस नेपालहरुले आफ्ना प्रोजेक्ट अघि बढाएर राम्रोसँग नेपालको प्रतिनिधित्व गर्नुभयो, उहाँहरुकै ‘ब्युटी विथ पर्पस’ले कुनै गाउँमा पुल, स्वास्थ्य चौकी र बिजुली पुगेको छ । त्यही भएर म यसलाई उत्तरदायित्व मान्छु । यो प्रोजेक्ट र लिगेसीलाई अघि बढाउनुपर्छ भन्ने कर्तव्य ममा आएको छ ।

म सेलिब्रेटी नै भइसकेको अनुभव भएको छैन । मैले मिस नेपालको जर्नी सुरु गरेदेखि नै मलाई धेरै माया, सपोर्ट आइरहेको थियो । मलाई यो जर्नीमा यति धेरै माया दिनुभएकोमा धन्यवाद छ । जतिबेला मैले विश्व मञ्चमा नेपाललाई प्रतिनिधित्व गरिरहेको हुन्छु, त्यतिबेला पनि यस्तै माया र साथ पाइराखुँ ।

प्राकृतिक र सांस्कृतिक सम्पदामा हाम्रो देश धनी छ । हाम्रो देशमा सगरमाथा छ, गौतम बुद्ध हुनुहुन्छ । हाम्रो देशमा सांस्कृतिक सम्पदा पनि छ । मलाई नेपालको मान्छेको न्यानो आतिथ्यता र दयालुपनलाई पनि विश्वभर चिनाउनु छ ।

म उद्यमी हुँ । म अहिले आयात निर्यातको व्यापार चलाइरहेकी छु । मैले १२ भन्दा बढी महिलालाई नेपालमै रोजगारको अवसर सिर्जना गरिरहेकी छु ।

मेरो ड्याडी र मेरो ममी असाध्यै सपोर्टिभ हुनुहुन्छ । त्यसैकारण म यहाँ छु । सुरुमा त मनदेखि नै धन्यवाद दिन चाहन्छु । उहाँहरुले मलाई यो स्टेजमा उभिएर उहाँसम्म आइपुग्ने लायक बनाउनुभयो । मिस नेपालको जर्नी सुरु भएदेखि नै मैले धेरै माया पाएको थिएँ । मिडियामा फलो गर्ने, मेसेज गर्ने र कमेन्टबाट प्राप्त प्रोत्साहनले मलाई अघि बढ्न मद्दत गर्‍यो । यो कुराले म मिस नेपाल बन्छु भनेर संकल्प लिन सजिलो भयो ।

प्रतिक्रिया