अभिनेत्री स्वस्तिमा खड्काले फिल्म ‘लालीबजार’ आफ्नो लागि विशेष रहेको बताएकी छिन्।
शुक्रबार ट्रेलर रिलिज गर्न आयोजित कार्यक्रममा बोल्दै उनले यो आफ्नो करिअरकै विशेष फिल्म बनेको बताइन्।
उनले भनिन्, ‘यो मेरो लागि निकै स्पेसल फिल्म बनेको छ। मैले गरेका फिल्ममध्ये धेरै समयसम्म सम्झिने र चर्चा हुने फिल्ममा यो पर्नेछ भन्ने विश्वास छ।’
उनले यो आमाको संघर्ष र सफलताको कथा रहेको बताइन्। शीर्ष भूमिकामा अभिनय गर्न र आमाको कथा प्रस्तुत गर्न पाउँदा निकै उत्साहित रहेको उनको भनाइ छ। फिल्ममा स्वस्तिमाले बादी समुदायकी महिलाको चरित्र निर्वाह गरेकी छन्।
ट्रेलरमा स्वस्तिमासँगै रवीन्द्रसिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, समाइरा थापा, प्रशंसा सुवेदी र विशाल देवकोटालगायत कलाकारहरू फिचर्ड छन्।
कार्यक्रममा बोल्दै अभिनेता रविन्द्रसिंह बानियाँले फिल्मले एक महिलाको जीवनका विभिन्न आयाम समेटेको बताए। ‘हामीले एउटा सेटअपमा फिल्मको कथा व्यक्त गरेका छौं। तर यो आमा र छोरीको कथा हो। बाध्यता, विवशता, संघर्ष र सफलतालाई यसमा देखाइएको छ,’ उनले भने।
‘लालीबजार’ षट्कोण आर्टसले निर्माण गरेको हो। निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायत रहेको षट्कोण आर्टसबाट ‘जात्रा,’ ‘जात्रै जात्रा,’ ‘महापुरूष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण भइसकेका छन्।
फिल्म ‘लालीबजार’ मा निर्देशक प्रदीप भट्टराईले निर्देशनको जिम्मा यम थापालाई दिएका हुन्।
‘लालीबजारको कथा निर्देशक थापाले नै ल्याउनुभएको हो, त्यसकारण यसलाई उहाँले नै नयाँ गर्नसक्नु हुन्छ भन्ने लागेर हामीले निर्देशनको प्रस्ताव गरेका हौं। अहिले हामीले सही निर्णय गरेका थियौं भन्ने लागेको छ। फिल्ममा निर्देशकको दिमागसंगै उहाँको देखाई र बुझाइ मिसिएको छ, कार्यकारी निर्माता प्रदीप भट्टराईले भने।