खुम्रे किराको आतङ्कले कृषक चिन्तित

राम्रो अनलाइन     १८ असोज २०८१, शुक्रबार
खुम्रे किराको आतङ्कले कृषक चिन्तित

 

काठमाडाैं –  खुम्रे कीराको प्रकोप बढेपछि धनकुटाका कृषक समस्यामा परेका छन् । खुम्रेले बाली विरुवाका जरा खाएर बाली सखाप पार्ने भएपछि किसान हैरान बनेका हुन् ।  गत बर्षसम्म अलि मात्र देखा परेको खुम्रे किरा यो बर्षबाट प्रकोपकै रुपमा देखिन थालेपछि कृषक समस्यामा परेका हुन् । तरकारी, अन्न र दालबालीमा यो कीरा प्रकोपकै रुपमा फैलिएको कृषकको भनाइ छ । बिगतका बर्षमा फाट्टफुट्ट मात्र देखिने यो कीराले अहिले यहाँको खेतीबालीमा प्रकोपको रुप लिएको छ । 

खुम्रे कीराको संख्या यति धेरै बृद्धि भएको छकि एक जनाले खनेर सक्ने एक दिनको मेलोमा दुई किलो जति खुम्रे कीरा भेटिने गरेको किसानको भनाइ छ । यहाँ लगाइएको बन्दाकोपी, काउली, मूला, आलु, मकैजस्ता खेतीमा खुम्रे कीराले ८० प्रतिशतसम्म नोक्सान गरेको धनकुटाको छथरजोरपाटी गाउँपालिका –२ फलैचाका कृषक चन्द्रबहादुर सारु मगरले बताए । 

तुलनात्मक रुपमा तरकारी खेती हुने क्षेत्रमा खुम्रेको प्रकोप बढी देखिएको छ । त्रिसुले, गुराँसे, जोरपाटी र सिंधुवालगायतका ठाउँ ताजा तरकारी उत्पादन पकेट क्षेत्र हुन् । यही क्षेत्रमा समस्या बढी छ । यहाँको उचाइ समुन्द्र सतहबाट दुई हजार दुईसय मिटरसम्म छ । कृषि प्राविधिकहरु खुम्रे किरा खपटे किराका विभिन्न प्रजातिका लार्भा भएको बताउँछन् । 

खपटे कीरा रातभरी फलफूल र तरकारीका पात खाने र उज्यालो हुनासाथ माटो भित्र लुक्ने गर्छ । माटोमुनी फूल पार्छ र लार्भाहरु निस्कन्छन् । तिनै लार्भाले माटोभित्र बसेर विरुवाका कलिला जरा खान्छ । मलको रुपमा प्रयोग गरिने काँचो बस्तु तथा बारीमै छाडिने तरकारीवालिका कारण यसको प्रकोप बढ्नेगरेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले बताए ।  

 

 

प्रतिक्रिया