खोप खरिदका लागि एडिबीले १९ अर्ब ५८ करोड बराबरको सहुलियतपूर्ण ऋण दिने

राम्रो अनलाइन     २७ साउन २०७८, बुधबार
खोप खरिदका लागि एडिबीले १९ अर्ब ५८ करोड बराबरको सहुलियतपूर्ण ऋण दिने

काठमाडौँ २७ साउन : कोभिड–१९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडिबी) बीच रु १९ अर्ब ५८ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।

अर्थमन्त्रालयमा आज आयोजित समारोहमा सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका देशीय निर्देशक आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्  । यो सहुलियत ऋण सहायताले एक करोड ५९ लाख डोज कोभिडविरुद्धको खोप खरिद गरी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्नेछ । यसबाट ६८ लाख जनसङ्ख्या लाभान्वित हुनेछन् ।

कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि एशियाली विकास बैंकको यो सहायता महत्वपूर्ण हुने उल्लेख गर्दै खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनःरुत्थानमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे । खोप कार्यक्रम सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउँदै उनले यसमा एशियाली विकास बैंकको ऋण सहायताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

एडिबीका देशीय निर्देशक कुस्वाले यो सम्झौता कोभिड–१९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनःरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे । उनले कोभिड–१९ सङ्क्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बैंकले पुर्‍याइरहेको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने बताए । यसबाहेक एशियाली विकास बैंकबाट परिचालित प्राविधिक सहायताले खोप वितरणलााई प्रभावकारी बनाउने र सञ्चार तथा सामुदायिक सहभागितालाई बढावा दिँदै कोभिड–१९ विरुद्ध जनचेतना फैलाउन सहयोग पुग्ने विश्वास सरकारले लिएको छ । 
 

प्रतिक्रिया