भ्यालेन्टाइन्स डेका दिन कतिपय बलिउड सेलिब्रिटीले वैवाहिक वर्षगाँठ मनाउने गरेका छन्। केही सेलिब्रिटीले भने प्रेमी–प्रेमिकालाई प्रेम प्रस्ताव राख्न यही दिन रोजेका थिए।
सञ्जय दत्त
अभिनेता सञ्जय दत्तले फेबु्रअरी १४ का दिन रिया पिल्लईसँग दोस्रो विवाह गरेका थिए। लामो समय प्रेम सम्बन्धमा रहेका रिया र सञ्जयले सन् १९९८ मा मन्दिरमा गुपचुप बिहे गरेका थिए। तर, उनीहरूको वैवाहिक सम्बन्ध लामो टिकेन। सन् २००५ मा उनीहरूले सम्बन्ध विच्छेद गरेका थिए।
अरसद वारसी
अभिनेता अरसद वारसीले पनि प्रेम दिवसका अवसरमा लगनगाँठो कसेका थिए। उनले आफ्नी प्रेमिका मारिया गोरेट्टीलाई सन् १९९९ मा जीवनसाथी बनाएका थिए। अरसद र मारियाले पनि इसाई र मुस्लिम रीतिरिवाजअनुसार बिहे गरेका थिए। उनीहरूको भेट कलेजको एक डान्स कार्यक्रममा भएको थियो।
मन्दिरा बेदी
अभिनेत्री तथा क्रिकेट कमेन्टेटर मन्दिरा बेदीले भ्यालेन्टाइन्स डेमा फिल्म निर्देशक राज कौशलसँग बिहे गरेकी थिइन्। सन् १९९९ मा उनीहरूले लगनगाँठो कसेका थिए। हिन्दू र सिख रीतिरिवाज मन्दिरा र राजले बिहे गरेका थिए।
ऋतिक रोशन
अभिनेता ऋतिक रोशनले भ्यालेन्टाइन्सस डेमा आफ्नी प्रेमिका सुजन खानसामु प्रेम प्रस्ताव राखेका थिए। ऋतिकले कफीको कपभित्र औँठी राखेर सुजनलाई दिएका थिए। त्यसको एक वर्षपछि मुम्बईको जुहु बिचमा घुँडा टेकेर उनले सुजनलाई विवाहको प्रस्ताव राखेका थिए। सुजनले प्रस्ताव स्वीकार गरेपछि उनीहरूले लगनगाँठो कसेका थिए। तर, बिहेको १४ वर्षपछि उनीहरूले वैवाहिक जीवन टुंगाए।
इमरान हासमी
बलिउडमा ‘सिरियल किसर’ भनेर चिनिने अभिनेता इमरान हासमीले पनि प्रेम दिवसका दिन प्रेम प्रस्ताव राखेका थिए। उनले परवीन साहनीसामु प्रेम प्रस्ताव राखेका थिए। त्यसै वर्षको डिसेम्बरमा उनीहरू वैवाहिक बन्धनमा बाँधिएका थिए।