होलीको रंगिन सम्झना 

राम्रो अनलाइन     ११ चैत २०८०, आइतबार
होलीको रंगिन सम्झना 

केही सेलिब्रिटीले आफ्ना बाल्यकालका होली यसरी सम्झिएका छन्ः  

‘त्यो सभ्य होली’ 


किरण केसी, हास्य कलाकार 

मलाई त अहिलेको भन्दा सानोको होली नै ठीक लाग्छ । बाल्यकालको होली निकै याद आउँछ । उबेला पानी हालेर खेल्ने चलन थिएन । साथी–साथीबीच ग्रुपमा बसेर एकले अर्कोलाई अबिर दलेर मनाइन्थ्यो । अबिरको पोको बोकेर टोलभरि रङ दल्दै हिँड्थ्यौँ । सभ्य तरिकाले होली मनाइन्थ्यो ।

‘कालो मोसो दलिन्थ्यो’


दीपाश्री निरौला, हास्य कलाकार 

मेरो बाल्यकाल विराटनगरमा बित्यो । तराईको होली भनेपछि ‘वाइल्ड’ नै हुन्थ्यो । त्यतिबेला विशेष तरिकाले होली मनाइन्थ्यो । रातभरि रङ तयार पारिन्थ्यो । बिहानै बुबाले कालो कसौँडीको मोसोमा तेल लगाई ‘ह्याप्पी होली’ भन्दै हाम्रो मुखभरि दलिदिनुहुन्थ्यो । त्यसपछि ‘जाओ होली खेल्न’ भन्नुहुन्थ्यो । हामी ग्याङै बनाएर गाउँमा डुल्थ्यौँ । नमान्ने साथीहरूलाई घरभित्रै पसेर रङ दल्थ्यो र ग्याङमा सामेल गथ्र्यौं । यति रङ दलिन्थ्यो कि नुहाएपछि पनि त्यो रङ जाँदैनथ्यो । होलीमा मालपुवा खूब खाइन्थ्यो । 

‘गोबरको होली’


शिवहरि पौडेल, हास्य कलाकार 

केटाकेटी उमेरमा होली खेल्न भनेपछि खूबै रहर लाग्थ्यो । मेरो बाल्यकाल बारा जिल्लामा बित्यो । त्यतिबेला रङ किन्न पैसा हुँदैनथ्यो । मन्दिरतिर चढाएको पैसा टिपेर भाग्थ्यौँ । र, त्यही पैसाले रङ किन्थ्यौँ । थोरै पैसामा रङ पनि थोरै आउँथ्यो । पछि रङ नपुगेर गाईको गोबरले होली खेल्थ्यौँ । एक पटक होलीका दिन प्लास्टिकमा गाईको गोबर पोको पारी हाइवेमा गुडिरहेको गाडीमा झ्याप्पै हानियो । ड्राइभरको कानमा ड्याम्मै लागेछ । त्यसपछि उसले गाडी रोकेर हामीलाई आधा घण्टासम्म लखेट्नु लखेट्यो । त्यो ड्राइभर गाउँसम्म पुगेछ । पछि बुबासँग झगडै परेछ । राति बुबाले मलाई नराम्रोसँग पिट्नुभयो । त्यो होली सधैँ सम्झिन्छु । 

‘बदमासी गरिन्थ्यो’

जितु नेपाल, हास्य कलाकार 

हाम्रो पालामा होलीको रौनक विशेष हुन्थ्यो । होली आउन दुई÷तीन दिनअघि साथीभाइ भेला गरेर खूब रमाइलो गरिन्थ्यो । रङभन्दा पनि पानीको होली बढी खेलिन्थ्यो । एक पटक होलीमा साथीहरूसँग मिलेर बाटोमा गुडिरहेको गाडीमा लोला हानियो । त्यसपछि हामी तुफान भागिहाल्यौँ । सिटमा बसेको एक जनालाई लोलाले बेस्सरी लागेछ । गाडी रोकेर उसले हामीलाई गाली गर्दै लखेट्यो । बाटोमा एक जना भाइ त्यतै आउँदै थियो । त्यो मान्छेले उसलाई च्याप्प समातेर धारामा लग्यो । पानी भरेको गाग्री  पूरै ऊमाथि खन्याइदियो । हामी चाहिँ लुकेर सबै हेरिरह्यौँ । त्यो बदमासी अहिले पनि याद आउँछ । 

‘भाङको लड्डुले बिरामी बनायो’


मनोज गजुरेल, हास्य कलाकार 
ताप्लेजुङमा हुर्केकाले होलीको स्वाद त्यति चाख्न पाइएन । पछि तराईमा बसाइँ सरेपछि चाहिँ होली खेल्न पाइयो । ग्याङ बनाएर एकापसमा रङ छ्यापेर होली खेलियो । तर, होलीको वास्तविक स्वाद भने काठमाडौँ आएपछि मात्र चाख्न पाइयो । सुरु–सुरुमा काठमाडौँ आउँदा केटीहरूलाई ताकेर केटाहरूले ड्याम्म–ड्याम्म लोला हानेको देख्दा खूब डर लाग्थ्यो ।  कलेज पढ्दाताका एक पटक होलीको दिन अरूले झुक्याएर भाङको लड्डु खुवाइदियो । म त तीन–चार दिनसम्म बिरामी नै भएँ । 

‘घाँस कुटेर रङ बनाइन्थ्यो’

राधिका हमाल, गायिका 

सानोमा रोल्पामा हुँदा होली खूब खेलियो । केटाहरूले लखेटी–लखेटी पानी छ्याप्थे । रङ नपाइने भएकाले हरियो घाँस कुटेर त्यसको रङ लगाइदिन्थे । ढोका थुनेर बस्दा पनि गाईको गोबर दलिदिन्थे । पछि–पछि त कम्पिटिसन नै गरेर होली खेल्न थालियो । अहिलेको भन्दा बच्चा बेलाको होली नै विशेष लाग्छ । 

‘होलीमा लट्ठी खाइन्थ्यो’

शंकर बिसी, कोरियोग्राफर 

सानो बेलामा नेपालगञ्जमा हुँदा होली धुमधामले मनाइन्थ्यो । ग्रुपमा साथीभाइ मिली हातभरि रङ लिएर ढोका थुनेर बसेका साथीहरूलाई पनि रङ लगाइदिन्थ्यौँ । त्यतातिरको चलनै त्यस्तै थियो । ज–जसको घरमा छिरेर बदमासी गरिन्थ्यो, उनीहरूको बुबा÷दाइबाट पछि लट्ठी पनि खाइन्थ्यो । 

‘पानीको ट्यांकीभित्र खसेँ’

हरिश निरौला, हास्य कलाकार 

सानो बेलामा म सोलुखुम्बुमा बस्थेँ । त्यो बेलाको होली निकै याद आउँछ । उबेला रङको होली त्यति खेलिएन । कराहीको कालो मोसोमा तेल दलेर साथीभाइलाई लगाइदिन्थ्यौँ । हाम्रो लागि होली भनेकै त्यही हुन्थ्यो । सात÷आठ वर्षअघि साथीहरूको गु्रप बनाइ एक जना साथीको घरमा गएका थियौँ । ट्यांकीबाट निहुरिएर पानी निकाल्न खोज्दा आफू नै ट्यांकीभित्र खसेको क्षण कहिल्यै बिर्सन्नँ । 

‘त्यो बाँसको पिच्कारी’

कुमार कट्टेल, हास्य कलाकार 


होली मलाई विशेष लाग्छ । बाल्यकाल झापामा बित्यो । त्यता होली विशेष पर्वकै रूपमा मनाइन्थ्यो ।  होलीको दिनमा निकै रमाइलो गरिन्थ्यो । अहिलेको जस्तो रेडिमेड पिच्कारी किन्न पाइँदैनथ्यो । त्यतिबेला बाँसको पिच्कारी बनाएर होली मनाउँथ्यौँ । गाउँभरिका साथीभाइ जम्मा भएर एकापसमा रङ छ्यापेर होली खेल्थ्यौँ । 

‘सामान्य हुन्थ्यो होली’

बुद्धि तामाङ, हास्य कलाकार 

होली भनेको रङको पर्व हो । मेरो बाल्यकाल काभ्रेमा बित्यो । सानो छँदा होलीको चहलपहल त्यति हुँदैनथ्यो । फाट्टफुट्ट साथीभाइ जम्मा भएर अबिर दलेर होली मनाउँथ्यो । पछि कलेजतिर भने मज्जाले मनाउन थालेँ । ग्रुपमा साथीभाइ मिलेर एकापसमा रङ दलेर, पानी छ्यापेर होली खेल्थ्यौँ । 

 

प्रतिक्रिया