गुल्मीका किसान उखुखेतीतर्फ आकर्षित

राम्रो अनलाइन     २८ चैत २०८०, बुधबार
गुल्मीका किसान उखुखेतीतर्फ आकर्षित

 

तम्घास– पछिल्लो समय गुल्मीका किसान उखुखेतीतर्फ आकर्षित भएका छन्। कम लागतमा बढी उत्पादन हुनुका साथै उखुबाट गुँड र खुदो बनाएर बेच्न सकिने भएपछि यहाँका किसान उखुखेतीतर्फ आकर्षित भएका हुन्। जिल्ला गुण र खुदोको लागि प्रख्यात मानिन्छ। देशका ठूला सहरका साथै विदेशी बजारमा गुल्मीको गुँड तथा खुदोको माग बढ्न थालेको स्थानीय बताउँछन्। विगतका वर्षमा किसानले परम्परागत खेती गर्दै आएकामा पछिल्लो समय भने उखुको व्यावसायिक खेती गर्दै आएका छन्। 

कतिपय कृषिजन्य सामग्रीले बजार नपाइरहेका बेला उखुबाट बनेका गुँड र खुदोलाई भने बजारको कुनै समस्या नहुँदा जीविकोपार्जनमा सहजता मिलेको किसान चोलनाथ ज्ञवाली बताउँछन्। ‘पहिले–पहिले बजारको समस्या थियो। अहिले भने कुनै समस्या छैन’, उनले भने, ‘उखुबाट बनाउने गुँड र खुदो बेचेर घरखर्च सहजरुपमा भइरहेको छ।’ 

विदेशी बजारसम्म गुल्मीको खुदो

छत्रकोट गाउँपालिकास्थित दिगाम, हर्दिनेटा, खज्र्याङ, मानकोटका साथै रुरुक्षेत्र गाउँपालिकाको थोर्गा, थानपतिलगायत स्थानमा उखुको राम्रो उत्पादन हुने जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लामा उत्पादन भएकोे गुँड तथा खुदो स्थानीय बजार रिडी हुँदै पाल्पा, बुटवल, पोखरा, काठमाडौंँका साथै विदेशी बजारसम्म पुग्ने गरेको छ। खुदो प्रतिलिटर रु एक सय ८० देखि दुई सय ५०, सादा गुँडको एक सय ७० र मसलावाला गुँडको रु दुई सय ५० मा प्रतिकिलो बिक्री हुने गरेको किसान सन्तोष पौड्यालले बताए। तर, अन्य बालीमा जस्तै उखुमा पनि बाँदर आतङ्कबाट किसानले हैरानी खेप्नुपरिरहेको उनी गुनासो गर्छन्।। 

‘उखु उत्पादन गर्न बाँदर प्रमुख समस्या बनेको छ’,पौड्यालले भने,‘बाली जोगाउन सके बजारमा जति पनि बिक्री हुन्छ।’ बाँदर नियन्त्रणका लागि सरकारले ठोस् कार्यक्रम ल्याए सहज हुनेथियो।’ हाल गुल्मीमा एक सय ७९ हेक्टर क्षेत्रफलमा उखु लगाइएको ज्ञान केन्द्रले जनाएको छ। वार्षिक दुई करोडको उखु, गुँड तथा खुदो निर्यात हुने गरेको केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ। 

जिल्लामा उखु उत्पादन वृद्धि गर्नको लागि कृषि ज्ञान केन्द्रले ‘जीतपुर–८’ नामको बीउसमेत वितरण गरेको छ। उखुको उत्पादन र उत्पादकत्व वृद्धि गर्न केन्द्रले परीक्षणका रुपमा उखु अनुसन्धान केन्द्रबाट बीउ ल्याएर वितरण गरेको कार्यालयका प्रमुख नवराज भण्डारीले बताए। साथै उखु किसानलाई पालिकाले बाँझो जग्गामा अनुदान दिने कार्यक्रम लागु गरेको छ। 
 

प्रतिक्रिया