गल्ती सुधारे धान निर्यात गर्ने अवस्थामा पुगिन्छ : अध्यक्ष ओली

राम्रो अनलाइन     १५ असार २०७९, बुधबार
गल्ती सुधारे धान निर्यात गर्ने अवस्थामा पुगिन्छ : अध्यक्ष ओली


भक्तपुर–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कृषिमा सुधार गर्न नेपालले धान उत्पादन वृद्धि गरी निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताएका छन् । अखिल नेपाल किसान महासङ्घले १९ औँ धान दिवसका अवसरमा आज भक्तपुरको सिरुटारमा आयोजना गरेको रोपाइँ महोत्सवमा उनले अहिले हामी आफैँले गर्दै आएको लापर्बाही, असावधानीको अन्त्य गर्दै कृषिको आधुनिकीकरण, प्रविधिकरण र व्यवसायीकरण गर्नसके धान आयात नभई निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताए । 

नेपालका ६० प्रतिशत मानिस कृषि पेसामा रहेर पनि आयातको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद् भएको भन्दै उनले जग्गा प्लटिङका कारण बस्ती र खेती गोलमाल भएको बताए । प्लटिङ सिस्टमका कारण जथाभावी बस्ती बसालिएको भन्दै उनले कहाँ बस्ती राख्ने, कहाँ खेती गर्ने, कहाँ उद्योग स्थापना गर्ने भन्ने नै गोलमाल भइराखेको बताए ।

नेपालको भूबनोट र हावापनीअनुसार नेपालमा धानबालीको लागि अति उपयुक्त देश भएको बताउँदै उनले धान, गहुँजस्ता अन्नबाली निर्यात गर्ने अवस्थालाई सुधार गर्न सकिने बताए । कार्यक्रममा उहाँले मेसिनबाट धान रोप्नुभयो । पत्नी राधिका शाक्यसँगै मेसिनमा बसेर उनले खेतमा मेसिन गुडाउँदै धान रोपाइँ गरेका थिए । 

कार्यक्रममा महासङ्घका अध्यक्ष डा प्रेम दङ्गालले  नेपालमा बर्सेनि रु ४३ अर्बको धान र चामल आयात हुने गरेको बताउँदै १५ लाख हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएकोमा ६५ लाख मेट्रिक टन धान नेपालले उत्पादन गर्नसके धानमा आत्मनिर्भर हुने बताए । कार्यक्रममा नेकपा एमालेका भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले असार १५ बितिसक्दा पनि सरकारले किसानलाई मल दिन नसक्दा धान उत्पादनमा ह्रास आउने बताए ।

 


 

प्रतिक्रिया