एनआरएनए युरोप क्षेत्रीय महिला संयोजक पदमा राधा सिग्देल (किरण) को उम्मेदवारी घोषणा

राम्रो अनलाइन     १५ फागुन २०८२, शुक्रबार
एनआरएनए युरोप क्षेत्रीय महिला संयोजक पदमा राधा सिग्देल (किरण) को उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय महिला संयोजक पदका लागि राधा सिग्देल (किरण) ले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। लामो समयदेखि एनआरएनए अभियान तथा प्रवासी नेपाली समुदायसँग सक्रिय रूपमा जोडिँदै आएकी सिग्देलले संगठनमा हासिल गरेको अनुभव, निरन्तर सक्रियता र संस्थाप्रतिको प्रतिबद्धतालाई आधार बनाएर नेतृत्वमा अघि बढ्ने निर्णय गरेको बताएकी छन् ।

गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशन आगामी मार्च १४ देखि १६ तारिखसम्म आयोजना हुने तय भएको छ, जहाँबाट नयाँ नेतृत्व चयन गरिने कार्यक्रम रहेको छ । सोही महाधिवेशनलाई लक्षित गर्दै सिग्देलले युरोप क्षेत्रीय महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

प्रवासमा रहेका नेपाली महिलाहरूको हक–अधिकार संरक्षण, नेतृत्व विकास तथा संस्थागत सहभागिता अभिवृद्धि आफ्नो मुख्य प्राथमिकता रहने उनले उल्लेख गरिन्। विदेशमा रहेका नेपाली महिलाहरूलाई संगठित गर्दै उनीहरूको क्षमता विकास र निर्णय प्रक्रियामा प्रभावकारी सहभागिता सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको सिग्देलको भनाइ छ ।

सामाजिक कार्यमा निरन्तर सक्रिय रहँदै आएकी उनले महिला सशक्तीकरण, सहकार्य र समावेशीतामार्फत एनआरएनएलाई अझ सशक्त र प्रभावकारी संस्थाका रूपमा अघि बढाउने लक्ष्य लिएको बताएकी छन् ।

प्रतिक्रिया