काठमाडौँ– ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोकसंस्कृतिको आधार’ भन्ने नाराका साथ यही महिनाको १९ देखि २६ गतेसम्म १२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला–२०८० आयोजना हुने भएको छ ।
लोक सांस्कृतिक मेला आयोजक संस्था एभरेस्ट नेपाल कल्चरल ग्रुपले मेलामा अस्ट्रिया, बेल्जियम, बोत्स्वाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेसिया, मलेसिया, पोल्यान्ड, दक्षिण अफ्रिका र नेपाल गरी ११ देशका ३५० कलाकारले आआफ्ना मौलिक लोककला र नृत्य प्रदर्शन गर्ने जनाएको छ ।
लोक सांस्कृतिक मेला–२०८० का संयोजक एवं ग्रुपका प्रमुख रामचन्द्र कोइरालाले बहुजाति, बहुभाषा र बहुसंस्कृति रहेको नेपालको लोकसंस्कृति तथा नृत्य कला र सम्पदालाई विदेशी कलाकारमाझ चिनाउन २०५९ सालदेखि प्रत्येक दुई दुई वर्षमा निरन्तर अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना गर्दै आएको जानकारी दिए।
नेपाली कला संस्कृतिप्रति विदेशी कलाकारको मोह र लगाव बढ्दै गएकाले सांस्कृतिक पर्यटक प्रवर्धन गर्न तथा नेपालको कला संस्कृति विभिन्न देशमा चिनाउन यस्तो चुनौतीपूर्ण काम गर्दै आएको संयोजक कोइरालाले बताउनुभयो । उक्त मेलाका सम्बन्धमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिए।
फागुन १९ गते नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा सो कार्यक्रमको औपचारिक रूपमा उद्घाटन हुने छ भने २१ गते नेपाल उद्योग वाणिज्य सङ्घ दाङ जिल्लासँगको सहकार्यमा घोराहीमा, २३ गते पर्यटकीय नगरी पोखरा, २५ गते काठमाडौँको वसन्तपुर हनुमानढोका दरबार स्क्वायर र २६ गते लालीगुँरास नेसनल एकेडेमी मनमैजुमा कार्यक्रम आयोजना गरिने भएको छ ।
विश्वका ११ देशका ३५० जना कलाकारको आवास सुविधा तथा यातायातलगायत आवश्यक व्यवस्थापनको तयारी पूरा भएको जानकारी आयोजक संस्थाले दिएको छ । २०५९ सालदेखि हालसम्म विश्वका ८५ देशका आठ हजार पाँच सय कलाकार सांस्कृतिक मेलामा सहभागी हुन नेपाल आइसकेका छन् ।
एभरेस्ट नेपाल कल्चरल ग्रुपले सहयोगी संस्था तथा विभिन्न प्रायोजकसँगको सहकार्यमा ११ वटा सांस्कृतिक मेला सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । वरिष्ठ गायक नारायण रायमाझीले यस किसिमको कार्यक्रमले विदेशी कलाकारलाई नेपालमै बोलाएर मनोरञ्जन लिनुका साथै नेपालको लोककला विदेशी कलाकारमाझ चिनाउन सहयोग पुगेको बताए।
नेपाली संस्कृतिको उत्थान तथा सांस्कृतिक पर्यटन प्रवर्धन गर्ने यो अभियानलाई निरन्तरता दिई विभिन्न देशबिचको सांस्कृतिक तथा कूटनीतिक सम्बन्ध प्रगाढ बनाई भाषा, कला र वेशभूषा आदानप्रदान गर्ने मुख्य लक्ष्य रहेको आयोजकले स्पष्ट पारेको छ । यसले नेपालको ऐतिहासिक तथा पुरातात्त्विक धरोहर एवं सम्पदालाई विभिन्न देशमा चिनाउन सहयोग पुगेको छ ।