काठमाडौं : एभरेष्ट बैंकको २६ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष ०७६/ ७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँटलगायतका प्रतिवेदन पारित गरेको छ ।
साधारणसभाले शेयरधनीलाई आव ०७६÷७७ का लागि ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत गरी ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले बताएको छ ।
बैंकले प्रस्तावित बोनस शेयर जारी भएपछ चुक्ता पुँजी वृद्धि हुने र राष्ट्र बैंकको स्वीकृतिबमोजिम संस्थापक समूहको ९.९१ प्रतिशत शेयर सर्वसाधारण समूहमा परिणत भएसँगै संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गर्न प्रबन्धपत्र संशोधन गर्नुपर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।
साधारणसभाले आगामी ४ वर्षका लागि सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक नवीनभक्त श्रेष्ठ र श्रीमती उर्मिला श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ ।