दोस्रो नेशनल बैङ्किङ डिस्कोर्स आयोजना हुने 

राम्रो अनलाइन     ०८ असार २०८१, शनिबार
दोस्रो नेशनल बैङ्किङ डिस्कोर्स आयोजना हुने 


काठमाडौँ–पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत दोस्रो नेशनल बैङ्किङ डिस्कोर्स २०२४ मा वक्ताका रूपमा सहभागी हुने भएका छन् ।

‘बैङ्किङ क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा’ शीर्षकको छलफलमा प्रमुख वक्ताका रूपमा डा. महत सहभागी हुन लागेका हुन् ।

बैङ्किङ समाचार डटकमको आयोजना, ग्लोबल आईएमई बैङ्कको मुख्य प्रायोजन तथा फोन पेको सह–प्रायोजनमा असार ११ गते दोस्रो नेशनल बैङ्किङ डिस्कोर्स २०२४ आयोजना हुने भएको हो ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, विशेष सत्रमा छलफलका लागि अर्थमन्त्री वर्षमान पुनको उपस्थिति रहने उक्त कार्यक्रममा नियामकीय निकाय, बैङ्क तथा वित्तीय क्षेत्र, सञ्चार क्षेत्र तथा सूचना प्रविधि क्षेत्रका विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने बताइएको छ ।

मुख्य रूपमा बैङ्किङ क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा, वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति, नेपालमा डिजिटल इकोसिस्टमको वर्तमान परिदृश्य तथा क्रस बोर्डर डिजिटल भुक्तानीका चुनौतीहरू, सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगिता र आगामी दिशानिर्देशका बारेमा छलफल हुने बताइएको छ ।

दोस्रो नेशनल बैङ्किङ डिस्कोर्स २०२४ ले बैङ्किङ क्षेत्रका समस्याहरूको समाधान खोज्न र नेपालमा बैङ्किङ प्रणालीलाई सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया