काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) ले भोलि बिहीबारदेखि ‘अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन’को आयोजना गरेको छ । केयूले नेपालको शैक्षिक इतिहासमा पहिलोपटक तीन दिने सो सम्मेलन आयोजना गर्न लागेको हो ।
नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने तथा अन्तर्राष्ट्रियस्तरमा विश्वविद्यालयको सम्बन्ध स्थापित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलनको आयोजना गरेको केयूका उपकुलपति प्रा.डा. भोला थापाले जानकारी दिए । उनका अनुसार भारतीय विश्वविद्यालय सङ्घको आयोजना एवं काठमाडौं विश्वविद्यालयको व्यवस्थापनमा आयोजित सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, मलेसिया, थाइल्याण्डलगायत एक सय ५० देशका विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्को उपस्थिति रहने छ ।
सम्मेलनमा विश्वले उच्च शिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा, उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर–विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुने उपकुलपति थापाले बताए । सम्मेलनमा दुई सय २७ सहभागीले सहभागिता जनाउने निश्चित गरेको विश्वविद्यालयले जनाएको छ । सम्मेलनमा अधिकांश सहभागी भारतीय विश्वविद्यालयबाट हुनेछन् भने दक्षिण पूर्वी एसियाली क्षेत्र, युरोप र अफ्रिकाका विश्वविद्यालयका प्रतिनिधिसमेत सहभागी हुनेछन् ।
सम्मेलनमा उच्च शिक्षण संस्थामा भूमण्डलीकरणबारे नयाँ खोज–अनुसन्धान, अन्तर्राष्ट्रिय सहयोग तथा अनुभाव आदानप्रदानलाई प्रोत्साहित गर्ने, साझा सञ्जाल निर्माण, उत्तम साझेदारी अभ्यास, तथा पारस्परिक सहयोग आदानप्रदान गर्ने विषयमा केन्द्रित हुने जनाइएको छ । केयूको प्रवक्ता एक्कुमाया पुनले सम्मेलनमा उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रभावकारी रणनीतिबारे छलफल, देश–देशका विद्यार्थीबीच अनुसन्धानका अनुभव तथा पाठ्यक्रम विकाससहितका विषयमा समेत बृहत् छलफल हुने बताइन् ।
यस्तै सम्मेलनमा उच्च शिक्षामा अन्तर्राष्ट्रिय सहयोग र साझेदारीका विषयमा विज्ञ–विशेषज्ञबाट अनुसन्धान साझेदारी, विद्यार्थी आदानप्रदान कार्यक्रम, संयुक्त डिग्री कार्यक्रम र प्राज्ञिक साझेदारीका फाइदा, उच्च शिक्षाको विश्वव्यापी नीति, नियमन तथा समान मानक, विद्यार्थी गतिशीलता र त्यसको विविधतामा अन्तर्राष्ट्रिय अनुभवका बारे कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ । साथै सम्मेलनमा नेपाल चिनाउन विभिन्न जातजातिको सांस्कृतिक झाँकी, नेपाली सङ्गीत चिनाउन केयू स्कुल अफ आर्टस्का साथै कुटुम्ब ब्याण्ड तथा नेपाल प्रहरीको सांस्कृतिक टोलीले नेपालको सातै प्रदेश, हिमाल, तराई, पहाडको नाचगान र संस्कृतिबारे नेपाली लोकबाजा प्रस्तुति रहेको जनाइएको छ ।